काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको गत आर्थिक वर्षको वित्तीय विवरण उत्साहजनक देखिएको छ । संस्थाको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा, वितरण योग्य नाफा र प्रतिसेयर आम्दानी लगायतका सबै सूचक सकारात्मक रहेको कम्पनीले जनाएको छ ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ११ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २०८.४४ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ३ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेको छ । जसको कारण बैंकको खुद नाफा उत्साहजनक देखिएको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४१.३० प्रतिशतले बढेर ४५ करोड ३ लाख ९० हजार रुपैयाँ कायम भएको छ । अघिल्लो आर्थिक वर्षमा यस कम्पनीको यस्तो आम्दानी ३१ करोड ८७ लाख ५५ हजार रुपैयाँ रहेको थियो । गत आवमा यस कम्पनीको सञ्चालन नाफा १६ करोड २७ लाख २१ हजार रुपैयाँ रहेको छ । कम्पनीको सञ्चालन नाफा २५०.५३ अंकले बढेको छ । अघिल्लो आर्थिक वर्ष यस कम्पनीको यस्तो नाफा ४ करोड ६४ लाख २२ हजार रुपैयाँ रहेको थियो ।
यस कम्पनीको समीक्षा अवधिमा वितरणयोग्य मुनाफा २ करोड ९७ लाख रुपैयाँबाट बढेर ९ करोड १० लाख रुपैयाँ पुगेको छ। नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २९ रुपैयाँ ८० पैसा बढेर ४४ रुपैयाँ ९ पैसा पुगेको छ।
असार मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य प्रतिसेयर आम्दानी ३४ रुपैयाँ १७ पैसा, प्रतिसेयर नेटवर्थ २७७ रुपैयाँ १७ पैसा र मूल्य आम्दानी अनुपात ४०.२८ गुणा रहेको छ। गत आवमा यस कम्पनीको चुक्ता पुँजी २६ करोड ६४ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४७ करोड २० लाख रुपैयाँ सञ्चित छ ।
प्रतिक्रिया दिनुहोस्