Skip to content

ऊर्जाको उज्यालो यात्रामा सौर्य संघको योगदान सराहनीय छः मन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले देशको दुर्गम गाउँ–बस्तीमा अझै सरकार स्वयंले उज्यालो पुऱ्याउन नसकेको ठाउँमा सौर्य विद्युत उत्पादक संघले महत्वपूर्ण योगदान दिएको भन्दै प्रशंसा गरेका छन्।

नेपाल सौर्य विद्युत उत्पादक संघ नेपालको रजत जयन्ती समारोहमा प्रमुख अतिथिको मन्तव्य दिँदै मन्त्री खड्काले सो कुरा बताएका हुन्। मन्त्री खड्काले भने, ‘सौर्य विद्युत उत्पादनमार्फत सरकारले हरेक नागरिकको घरमा उज्यालो दिन नसकेको ठाउँमा संघले महत्वपूर्ण भूमिका खेलेको छ, सिंचाई गर्न नसकेको ठाउँमा सौर्य प्रणालीमार्फत सिंचित गरेर संघले योगदान दिएकोमा म आभार प्रकट गर्न चाहन्छु।’

उनले विद्युतको आवश्यकता बढ्दो रहेको र आपूर्तिको माग पनि उच्च रहेको बताए । तर त्यसको सम्बोधन हुन नसकेकेर गुनासो आएको पनि उनले बताएका छन् । सरकारले अब यस क्षेत्रमा तीव्र गतिमा काम गर्ने बेला आएको उनको बुझाई छ । सरकारले लिएको १० वर्षे दिगो ऊर्जा लक्ष्यमा संघको निरन्तर सहयोग र सहकार्य अपरिहार्य रहेको उनले बताए ।

दिगो ऊर्जा विकासका लागि निजी क्षेत्रको लगानी र साझेदारीलाई अझ प्रभावकारी बनाउन सरकार नीतिगत सहजीकरण गरिरहेको मन्त्री खड्काले बताए। स्वच्छ र भरपर्दो ऊर्जाको विकल्पका रूपमा सौर्य ऊर्जा रणनीतिक रूपमा महत्वपूर्ण भइसकेको उल्लेख गर्दै उनले भने, ‘हामी जलविद्युतमा जति अगाडि बढ्दै छौं, सौर्य ऊर्जा पनि त्यत्तिकै महत्वको विषय हो। जलवायु परिवर्तनको चुनौतीलाई मध्यनजर गर्दै अबको ऊर्जा योजना बहुआयामिक र नविकरणीय स्रोतमै केन्द्रित हुनुपर्ने आवश्यकता छ।’

कार्यक्रममा मन्त्री खड्काले सरकारले सौर्य ऊर्जा क्षेत्रका लगानीकर्तालाई प्रोत्साहन गर्ने उद्देश्यले सौर्य विद्युत खरिद दर पुनरावलोकन, प्रसारण लाइनको पहुँच विस्तार र बैंकिङको व्यवस्था जस्ता विषयलाई प्राथमिकतामा राखेको जानकारी दिए। उनले स्पष्ट गरे, ‘हामीले स्वच्छ ऊर्जा उत्पादन गरिरहेका छौं, कार्बन उत्सर्जन गरिरहेका देशहरूसँग क्षतिपूर्तिका लागि कूटनीतिक तथा अन्तर्राष्ट्रिय स्तरमा आवश्यक पहल गर्न सरकार तयार छ।’

कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले गरेका थिए। उनले सौर्य ऊर्जा उत्पादनमा निजी क्षेत्रको योगदान र सरकारसँगको सहकार्यको आवश्यकता माथि प्रकाश पार्दै भने, ‘संघले विगत २५ वर्षमा नीति संवाद, प्रविधि हस्तान्तरण र परियोजना विकासमा महत्वपूर्ण भूमिका खेलेको छ। अब सहकार्य, स्थायित्व र लगानीमैत्री वातावरण आवश्यक छ।’

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi