Skip to content
Prabhu

नागरिकका आवश्यकताअनुसार नयाँ बिमालेख ल्याउन निर्देशनः अध्यक्ष सिलवाल

 

काठमाडौं । नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले हिमाल, पहाड र तराई मधेसका आवश्यकताका आधारमा फरक–फरक बिमालेख ल्याउन बिमा कम्पनीहरूलाई निर्देशन दिएका छन् ।

नेपाल बिमा प्राधिकरणले डिजिटल बिमालेख मार्गदर्शन जारी गर्न लागेको सन्दर्भमा प्राधिकरणले आइतबार काठमाडौंमा आयोजित डिजिटल बिमालेखसम्बन्धी छलफल एवम् अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले बजारको समग्र अनुसन्धान गरी नागरिकका आवश्यकताअनुसार नयाँ बीमालेख ल्याउन निर्देशन दिएका हुन् ।

अध्यक्ष सिलवालले भने, ‘भविष्य अनिश्चित छ, विपद्को जोखिम सधैं हुन्छ, जोखिम हस्तान्तरण गरी आर्थिक सुरक्षण गर्ने एकमात्र माध्यम भनेको बीमा हो, संसद्, संसदीय समिति, सरकार, राजनीतिक दल लगायत सबैले बीमाका बारेमा बुझेपछि मात्र बीमा क्षेत्रको विकास र पहुँच विस्तारले तीब्रता पाउँछ, त्यसतर्फ सबै लाग्नुपर्छ ।’

बिमा क्षेत्रमा सूचना प्रविधिको अधिकतम् प्रयोग गरी लागत न्यून गर्न र सेवा प्रवाहलाई छिटोछरितो बनाउनका लागि आगामी १५–२० वर्षसम्मको आवश्यकतालाई धान्ने गरी नयाँ सफ्टवेयर सञ्चालनमा ल्याउन बिमा कम्पनीहरूलाई निर्देशन दिँदै अध्यक्ष सिलवालले भने, ‘प्राधिकरण क्रमिकरूपमा डिजिटलाइजेशनमा अगाडि बढिरहेको छ, बिमा कम्पनीहरूले पनि लगानी बढाएर नयाँ सफ्टवेयर सञ्चालनमा ल्याउनुपर्छ, कम्पनीका आ–आफ्ना विशेषताहरूलाई सम्बोधन गर्ने गरी नयाँ सफ्टवेयर ल्याउन बीमकका सङ्घहरू अग्रसर हुनुपर्छ, प्राधिकरणले कागजात नस्वीकार्ने निर्णय गरेपछि बाध्य भएर कम्पनीहरू डिजिटलाइजेशनमा जानुपर्ने अवस्था आउनसक्छ ।’

लघुबिमा कम्पनीहरू इजाजतको परिधिभित्र रहनुपर्छ, न्यून आय भएका बर्ग र पिछडिएका क्षेत्रलाई नै लक्षित गरी काम गर्नुपर्छ, फरकखालका नयाँ बिमालेख ल्याउनुपर्छ, बिमाशुल्क सस्तो हुनुपर्छ, दाबी भुक्तानी छिटोछरितो हुनुपर्ने उनले बताए ।’ नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीहरूले खोजमूलक अध्ययन अनुसन्धान गरेर नयाँ–नयाँ बीमालेखहरू ल्याउनुपर्ने आवश्यकता औंल्याउँदै नयाँ बिमालेखबाट बीमाको दायरा बढ्ने र बिमा कम्पनीप्रतिको धारणा पनि राम्रो हुने बताए ।

नेपाल बिमा प्राधिकरणका निर्देशक दिनेशकुमार लालले बिमा कम्पनीहरूले पर्याप्त अध्ययन अनुसन्धान गरी बीमालेख ल्याएमा मात्र बीमालेखको बिक्री बढ्ने, बीमित सन्तुष्ट हुने र बिमाप्रतिको विश्वसनीयता समेत बढ्ने बताए । नेपाल जीवन बीमक सङ्घका अध्यक्ष पोषकराज पौडेलले बिमा कम्पनीहरू डिजिटलरूपमा अगाडि बढ्न तयार रहेको बताए । कार्यक्रममा नेपाल बिमा प्राधिकरणका निर्देशक पूजन ढुङ्गेल (अधिकारी) ले जीवन बीमालेख स्वीकृतिमा देखिएका समस्या तथा चुनौती सम्बन्धी प्रस्तुति गर्दै बजार अध्ययन गरी नयाँ–नयाँ बिमालेख प्रचलनमा ल्याउन बिमा कम्पनीहरूलाई आग्रह गरेका छन् ।

नेपाल बिमा प्राधिकरणका उपनिर्देशक राम कोजुले बीमालेख कोडिङ्ग तथा डिजिटल बिमालेखसम्बन्धी प्रस्तुति गरेका थिए । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले कम्प्युटर प्रणालीका माध्यमबाट हरेक बीमालेखलाई कोडिङ नम्बर दिने कार्य ‘बिमालेख कोडिङ’ को सोमबार काठमाडौंमा शुभारम्भ गरेका छन् । बिमालेख कोडिङको कार्यान्वनबाट प्रत्येक बीमालेखको छुट्टाछुट्टै कोड नम्बर हुने, कम्प्युटर प्रणालीबाट नै कोड नम्बर तय हुने, प्राधिकरण र बीमा कम्पनीका वेभसाइटबाट कोड नम्बरका आधारमा बीमालेखबारे समग्र जानकारी प्राप्त गर्न सकिने सुविधाहरू प्राप्त हुनेछन् ।

कार्यक्रममा जीवन बिमा कम्पनी र लघुबीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा बीमालेख शाखाका प्रमुखहरूको सहभागिता रहेको थियो ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal