काठमाडौं । आइएमई मोटर्सले ९ महिनामा सावा दुई अर्ब रुपैयाँ बढीको व्यापार गरेको छ। कम्पनीले आर्थिक वर्ष २०२५ को पहिलो ९ महिनामा २ अर्ब २१ करोड ६० लाख रुपैयाँको व्यापार गरेको हो।
यसैगरी, यस कम्पनीले आव २०२४ मा २ अर्ब ३४ करोड, आव २०२३ मा १ अर्ब ७५ करोड र आव तीन अर्ब १४ करोड रुपैयाँ बढीको व्यापार गरेको थियो। साथै, कम्पनीले २०२२ मा २ अर्ब ३७ करोड र आव २०२१ मा १ अर्ब ८३ करोड रुपैयाँ बढीको कारोबार गरेको थियो।
आइएमई मोटर्सले तीन अर्ब २५ करोड रुपैयाँ कर्जाको रेटिङ गराएको छ । यस कम्पनीले बैंकिङ कर्जा प्रयोजनमा लागि कर्जाको रेटिङ एजेन्सी इक्रा नेपालमा रेटिङ गराएको हो। जसमा २ अर्ब १२ करोड ९० लाख रुपैयाँ दीर्घकालीन कर्जामा ‘एनबिआइनस’ र एक अर्ब १२ करोड १० लाख रुपैयाँ अल्पकालीन कर्जाको लागि ‘एफोर’ पुनः पुष्टी भएको छ।
इक्राले कम्पनीलाई एक वर्षअघि दिएको रेटिङलाई नै पुनः पुष्टि गरेको हो। कम्पनीले सन् २०२४ को जुलाइमा ३अर्ब ४० करोड रुपैयाँ बैंकिङ कर्जा प्रयोजनका लागि रेटिङ गराएको थियो।
सन् २०१० मा स्थापित यस कम्पनीमा कम्पनीमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको आइएमई ग्रुपको लगानी छ। भारतको हिन्दुजा समूहको कमर्सियल भेहिकल अशोक लेल्याण्डका लागि नेपालको आधिकारिक वितरण आइएमई मोटर्स हो।
आइएमई मोटर्सले अशोक लेल्याण्डका सम्पूर्ण कमर्सियल भेहिकल (सिभी)मा बस, इन्टरमिडिएट कमर्सियल भेहिकल्स (आइसिभिएस्), लाइट कमर्सियल भेहिकल्स (एलसिभिएस्), मिडियम कमर्सियल भेहिकल्स (एमसिभिएस्), ट्रक र टिपरहरू नेपाल आयात गरेर व्यापार गर्छ।
यो कम्पनी सुरुवातमा एलटी इन्टरप्राइजेज प्राइभेट लिमिटेडको नाममा डिस होम (डिजिटल टिभी)को डिलरसिपसहित स्थापना भएको थियो। पछि सन् २०१७ मा यसको नाम परिवर्तन गरी आइएमई मोटर्स प्राइभेट लिमिटेड (आइएमपिएल) राखियो। अशोक लेल्यान्डको डिलरसिप भने सन् २०१५ देखि थपिएको हो।






प्रतिक्रिया दिनुहोस्