काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल धितोपत्र बोर्डको सञ्चालकमा नियुक्त भएका छन् । निजी क्षेत्रबाट प्रतिनिधित्व गर्दै महासंघ उपाध्यक्ष ढकाल सञ्चालकमा नियुक्त भएका हुन् ।
उनलाई नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले महासंघको तर्फबाट सेबोन सदस्यका रुपमा मनोनयन गरि पठाए ।
नेपाल धितोपत्र ऐन २०६३ को धारा ३ मा भएको व्यवस्था अनुरुप उनी सेबोनको सदस्यमा नियुक्त भएका हुन् । ऐनमा नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधी नेपाल धितोपत्र बोर्डको सदस्य हुने व्यवस्था छ । ढकालले सेबोनमा निजी क्षेत्रको प्रतिनिधित्व गर्नेछन् ।
सेबोन सदस्य नियुक्त भएपश्चात ढकालले पूँजीबजारलाई राष्ट्रिय अर्थतन्त्रको दिगो स्रोतको रूपमा विकसित गर्न निजी क्षेत्र र सरकारी निकायबीचको सहकार्यलाई सुदृढ बनाउने आफ्नो प्राथमिकतामा रहने बताए ।

यस्तै उनले बोर्डको सदयका हैसियतले पूँजीबजारको विकासका लागि आफु प्रयत्नशील रहने बताए । यस्तै सेयर बजारको संरचनात्मक सुधार, पारदर्शिता अभिवृद्धि, लगानीकर्ता संरक्षण, बजारको पहुँच विस्तार र दीर्घकालीन लगानीलाई प्रोत्साहन दिने नीतिगत तथा संस्थागत पहलमा आफुले सक्दो योगदान दिने नवनियुक्त सदस्य ढकालले बताए ।
नवनियुक्त सञ्चालक ढकाललाई आज (बुधबार) धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले शपथ ग्रहण गराएका छन्। बोर्डमा निजी क्षेत्रको तर्फबाट महासंघको पदाधिकारी तहको व्यक्ति बोर्ड सञ्चालकमा नियुक्त हुने व्यवस्था छ ।







प्रतिक्रिया दिनुहोस्