काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त बैंकले गत आर्थिक वर्षमा ३ अर्ब २ करोड ९३ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा साढे २४ करोड रूपैयाँ कम खुद नाफा गरेको हो । अघिल्लो आवमा बैंकको नाफा ३ अर्ब २७ करोड रूपैयाँ थियो ।
आम्दानीमा घट्दा बैंकको नाफा प्रभावित भएको छ । बैंकको खुद ब्याज आम्दानी, खुद फि एन्ड कमिसन आम्दानी घटेको छ भने सम्भावित नोक्सानीका लागि गर्नुपर्ने व्यवस्था फिर्ता अर्थात् प्रोभिजनिङ राइटब्याक गरेको छ ।
बैंकले आव २०८१/८२ मा ४ अर्ब ४८ करोड ८४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने खुद फि एन्ड कमिसन आम्दानी १ अर्ब ३६ करोड ४४ लाख रुपैयाँ रहेको छ । यता ३३ करोड ६२ लाख रुपैयाँ नोक्सानी व्यवस्था फिर्ता अर्थात् प्रोभिजन राइट ब्याक गरेको छ ।
जबकि अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा यस्ता आम्दानी क्रमशः ५ अर्ब ३ करोड ३२ लाख र १ अर्ब ४१ करोड ५८ लाख थिए । बैंकले अघिल्लो आवमा २१ करोड ६१ लाख रूपैयाँ प्रोभिजन थप गरेको थियो ।
साढे १७ करोड नेट ट्रेडिङ इन्कम र अदर अपरेरिङ इन्कमसहित बैंकले २०८१/८२ मा ६ अर्ब ९३ करोड ३७ लाख रुपैयाँ खुद सञ्चालन आम्दानी गरेको छ । गत आव यस्तो आम्दानी ७ अर्ब १ करोड ४९ लाख रुपैयाँ थियो ।
बैंकको खर्च हल्का घट्दा १ करोड २० लाख रुपैयाँ गैरसञ्चालन खर्च देखिएको छ । नाफा घट्दा स्ट्यान्डर्ड चार्टर्डको प्रतिसेयर आम्दानी घटेको छ । २०८१ असार मसान्तसम्म ३४ रुपैयाँ ७३ पैसा रहेको ईपीएस २०८२ असारमा ३० रुपैयाँ १७ पैसा कायम भएको छ ।
यता बक्यौता ब्याज बढ्दा उठाएर ३ करोड ८१ लाख रुपैयाँ रकम नियामकीय जगेडाबाट फिर्ता गरेको बैंकले गैरबैंकिङ सम्पत्ति बुक गरेको छैन । बैंकले गरेको ३ अर्ब ३ करोड रुपैयाँ नाफामध्ये १ अर्ब ९३ करोड ६३ लाख रुपैयाँ लाभांशका रुपमा बाँड्न सक्ने देखिन्छ ।
यद्यपि गत आवसम्म रहेको २ अर्ब ४६ करोड १६ लाख रुपैयाँ रिटेन्ड अर्निङ र लाभांशस समेत समायोजन गर्दा २०८२ असार मसान्तसम्मको वितरणयोग्य नाफा अर्थात् सञ्चित नाफा १ अर्ब ९९ करोड ३३ लाख रुपैयाँ रहेको छ । बैंकको चुक्तापुँजी १० अर्ब ४ करोड २४ लाखका आधारमा बैंकको लाभांश क्षमता १९.८५ प्रतिशत देखिन्छ । अघिल्लो आवमा लाभांश क्षमत २६.११ प्रतिशत थियो ।
२०८२ असार मसान्तको तथ्यअनुसार बैंकको निष्क्रिय कर्जा घटेर १.४७ प्रतिशत पुगेको छ । एक वर्षको अवधिमा बैंकको बेसरेट ६.६ प्रतिशतबाट घटेर ४.९९ प्रतिशत कायम भएको छ भने ब्याजदर स्प्रेड ४ प्रतिशतबाट ३.५३ प्रतिशत कायम भएको छ ।
यसैगरी प्राथमिक पुँजी अनुपात पनि १३.६७ प्रतिशतबाट भारी मात्रामा सुधार भएर १५.८ प्रतिशत कामय हुँदा नेटवर्थ प्रतिसेयर २१७ रुपैयाँ र पीई रेसियो २१.८ रहेको छ ।
बैंकले असार मसान्तसम्म १ खर्ब २५ अर्ब ३४ करोड रुपैयाँ निक्षेप परिचालन गरी ७२ अर्ब ७१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । १ वर्षको अवधिमा बैंकले निक्षेप १३ अर्बले बढाउँदा कर्जा ९ अर्बले कम गरेको छ ।






प्रतिक्रिया दिनुहोस्