काठमाडौं । गत आर्थिक वर्षको असार मसान्तसम्म सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीले ६ अर्ब २ करोड ४७ लाख ९१ हजार रुपैयाँ आर्जन गरेका छन् । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा १६.०१ प्रतिशतले कम हो ।
अघिल्लो आवको सोही अवधिमा १४ जीवन बीमा कम्पनीको नाफा ७ अर्ब १७ करोड ३५ लाख ६० हजार रुपैयाँ रहेको थियो । जीवन बीमा कम्पनीहरुले प्रकाशित गरेको वित्तीय अवस्थाका उक्त विवरण उल्लेख छ । १४ बीमा कम्पनीमा ६ वटा जीवन बीमा कम्पनीको नाफा बढेको छ भने ८ वटा जीवन बीमा कम्पनीको नाफा घटेको छ ।
नाफा बढाउने कम्पनीमा रिलायबल नेपाल लाइफ, एशियन लाइफ, नेपाल लाइफ, सानिमा रिलायन्स, सूर्य ज्योति र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाफा बढेको छ । यस्तै असार मसान्तसम्मको वित्तीय विवरण अनुसार सिटिजन्स लाइफ, आइएमई लाइफ, सन नेपाल लाइफ, हिमालयन लाइफ, राष्ट्रिय जीवन बीमा कम्पनी, मेट लाइफ, नेशनल लाइफ र लाइफ इन्स्योरेन्स कम्पनीको नाफा घटेको छ ।
सबैभन्दा धेरै नाफा नेपाल लाइफ इन्स्योरेन्सले आर्जन गरेको छ । गत आवको असार मसान्तसम्म कम्पनीको नाफा ६० करोड ३२ लाख ६३ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा यो नाफा १७.३७ प्रतिशतले धेरै हो ।
यस्तै दोस्रो स्थानमा आइएमई लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको नाफा ५८ करोड ३३ लाख १ हजार रुपैयाँ रहेको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ५.५४ प्रतिशतले थोरै हो ।
रिलायबल नेपाल लाइफको नाफा ४७.२५ प्रतिशतले बढेर ५७ करोड १ लाख ९५ हजार रुपैयाँ रहेको छ ।
यस्तै हिमालयन लाइफको नाफा १३.७१ प्रतिशतले घटेर ५४ करोड ६९ लाख ७४ हजार, सन नेपाल लाइफको नाफा ५.६५ प्रतिशतले घटेर ५ अर्ब ४२ करोड २४ लाख ७८ हजार, मेट लाइफको नाफा ४०.०७ प्रतिशतले घटेर ४९ करोड ६१ लाख ७२ हजार, सिटिजन्स लाइफ इन्स्योरेन्सको नाफा १.१६ प्रतिशतले घटेर ४२ करोड ५० लाख १३ हजार, नेशनल लाइफको नाफा ५६.२२ प्रतिशतले घटेर ४१ करोड २८ लाख ४३ हजार र एशियन लाइफ इन्स्योरेन्सको नाफा २४.५७ प्रतिशतले बढेर ४० करोड ९३ लाख ३७ हजार रुपैयाँ रहेको छ ।
यस्तै सानिमा रिलायन्स लाइफको नाफा ७.६० प्रतिशतले बढेर ३७ करोड ७४ लाख ९३ हजार, प्रभु महालक्ष्मी लाइफको नाफा १.२५ प्रतिशतले बढेर ३७ करोड ७ लाख ४३ हजार, सूर्य ज्योति लाइफको नाफा १.४५ प्रतिशतले बढेर ३५ करोड २ लाख ८६ हजार, लाइफ इन्स्योरेन्स कर्पोरेशनको नाफा ६१.९२ प्रतिशतले घटेर ३१ करोड ५८ लाख ९३ हजार र राष्ट्रिय जीवन बीमा कम्पनीको नाफा १६ प्रतिशतले घटेर २ करोड ८ लाख रुपैयाँ रहेको छ ।







प्रतिक्रिया दिनुहोस्