काठमाडौं । अघिल्लो आर्थिक वर्ष घाटामा रहेका अधिकांश फाइनान्स कम्पनी गत आवमा सुधारको पाटोतर्फ लाग्न थालेका छन् । अघिल्लो आर्थिक वर्ष १५ फाइनान्स कम्पनीमध्ये ९ फाइनान्स कम्पनीको वित्तीय अवस्था ऋणात्मक थियो । तर, गत आवमा दुई फाइनान्स कम्पनीको नाफा ऋणात्मक छ । बाँकीले नाफा सुधारतर्फ उन्मुख गराएका छन् ।
गत आर्थिक वर्षको असार मसान्तसम्म श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीले ६ करोड ९९ लाख ३० हजार ६१२ रुपैयाँ नाफा कमाएको छ । यस कम्पनीको नाफा अघिल्लो आवको तुलनामा बढेको छ । अघिल्लो आवमा यस कम्पनीको नाफा ६ करोड १६ लाख ५९ हजार ३२३ रुपैयाँ थियो ।
गत आवमा मल्टिप्रपोज फाइनान्स कम्पनीको नाफा पनि बढेको छ । कम्पनीको नाफा अघिल्लो आवको तुलनामा १२२.४४ प्रतिशतले बढेर २ करोड ३३ लाख २४ हजार ३१७ रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यस कम्पनीको नाफा १ करोड ४ लाख ८५ हजार २५६ रुपैयाँमात्र थियो ।
गत आवसम्म आउँदा आईसीएफसी फाइनान्स कम्पनीको पनि नाफा बढेको छ । यस कम्पनीको नाफा गत आवमा २०४.६० प्रतिशतले बढेको छ । गत आवसम्म यस कम्पनीले ३४ करोड ४९ लाख ४३ हजार रुपैयाँ नाफा कमाएको छ । यस कम्पनीको अघिल्लो आवको नाफा ११ करोड ३२ लाख ४३ हजार ३१८ रुपैयाँ थियो।
मञ्जुश्री फाइनान्स कम्पनीको पनि गत आवमा नाफा बढेको छ । यस कम्पनीले गत आवमा ३१ करोड ४३ लाख ८२ हजार ९६८ रुपैयाँ नाफा कमाएको छ । यस कम्पनीको नाफा अघिल्लो आवको तुलनामा ३९.९७ प्रतिशत बढेको हो । अघिल्लो आवमा यस कम्पनीले २२ करोड ४६ लाख १५ हजार ३६४ रुपैयाँ नाफा कमाएको थियो ।
यसैगरी, यस अवधिमा समृद्धि फाइनान्स कम्पनीले ३ करोड १४ लाख ३८ हजार रुपैयाँ नाफा कमाएको छ । यो कम्पनी अघिल्लो आवमा ऋणात्मक रहेको थियो । गुहेश्ररी मर्चेट बैंकिङ तथा फाइनान्सले गत आवमा २ करोड ७९ लाख ५८ हजार रुपैयाँ नाफा कमाएको छ ।
वेस्ट फाइनान्स कम्पनीले गत आवमा २० लाख ७७ हजार रुपैयाँ नाफा कमाएको छ । पोखरा फाइनान्स कम्पनीले गत आवमा ११ करोड ३९ लाख ८ हजार रुपैयाँ नाफा कमाएको छ । सेन्ट्रल फाइनान्स कम्पनी पनि गत आवमा सुधार भएको छ । अघिल्लो आवमा ऋणात्मक रहेको यो कम्पनी गत आवमा ८ करोड ९१ लाख ४८ हजार रुपैयाँ नाफामा रहेको छ ।
यसैगरी, प्रोग्रेसिभ फाइनान्स कम्पनीले पनि गत आवमा ११ करोड १९ लाख ३८ हजार रुपैयाँ नाफा कमाउन सफल भएको छ । यो कम्पनी पनि गत आवमा नोक्सानीमा रहेको थियो । गत आवमा गुडविल फाइनान्स कम्पनीले ५१ लाख १९ हजार रुपैयाँ नाफा कमाएको छ भने नेपाल फाइनान्स कम्पनीले २ करोड १७ लाख ४५ हजार रुपैयाँ नाफा कमाएको छ। रिलायन्स फाइनान्स कम्पनीले गत आवमा ४ करोड २७ लाख ४ हजार रुपैयाँ नाफा कमाएको छ । यी कम्पनीहरूको नाफा पनि अघिल्लो आवमा ऋणात्मक रहेको थियो ।
यस अवधिसम्म ऋणात्मक रहेका गोर्खाज फाइनान्स र जानकी फाइनान्स रहेका छन् । गत आवमा गोर्खाज फाइनान्स कम्पनी १२ करोड ७३ लाख ९४ हजार ५४८ रुपैयाँले ऋणात्मक रहेको छ । यो कम्पनी अघिल्लो आर्थिक वर्षमा ४ करोड २३ लाख ७२ हजार ८५५ रुपैयाँ नाफामा रहेको थियो ।
यसैगरी, गत आवमा जानकी फाइनान्स कम्पनी पनि ऋणात्मक भएको छ । यस कम्पनी गत आवमा २० करोड ७२ लाख ८४ हजार ११२ रुपैयाँले ऋणात्मक बनेको हो । यस कम्पनीको नोक्सानी अघिल्लो आवको तुलनामा झन् बढेको छ । अघिल्लो आवमा यो कम्पनी १३ करोड ७१ लाख ६३ हजार २५ रुपैयाँमात्र ऋणात्मक थियो ।
प्रतिक्रिया दिनुहोस्