काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हरितालिका, तीजले नेपाली समाजको सांस्कृतिक पहिचानलाई जोड्दै लगेको बताएका छन् ।
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संङ पशुपति क्याम्पस एकाइ समितिले आज हरितालिका पर्वका अवसरमा आयोजना गरेको ‘सांस्कृतिक तथा दर खाने कार्यक्रम’मा उनले नेपाली समाजको मौलिकता र सांस्कृतिक अस्तित्व जोगाउने जिम्मेवारी सबैको काँधमा रहेको बताएका हुन् ।
उनले तीजलाई केबल महिलाको पर्व नभई समाजलाई अनुशासित, मर्यादित र आस्थासँग जोड्ने माध्यमका रूपमा लिनुपर्ने बताए । ‘कुनै धातु तरल अवस्थामा रहँदा जसरी पाइएको फ्रेमअनुसार आकार लिन्छ, विद्यार्थी पनि आजको दिनमा आफैंलाई जसरी तयार गर्छन्, त्यसरी नै भविष्य निर्माण हुन्छ, त्यसैले धर्म, संस्कृति र समाजको रक्षा गर्दै योग्य नागरिक बन्नु तपाईंहरुको जिम्मेवारी हो, तीज सबैले मिलेर मनाउने साझा पर्वका रूपमा स्थापित हुँदै गएको छ’, उनले भने ।
कार्यक्रममा योगमाया आयुर्वेद विश्वविद्यालयका उपकुलपति डा रमेश ढुंगेलले तीजजस्ता सांस्कृतिक पर्वहरूले नेपाललाई विश्वमञ्चमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । ‘हाम्रा पर्वहरूले राष्ट्रिय पहिचानलाई निरन्तरता दिनेमात्र होइन, विविधतामूलक संस्कृतिलाई अन्तरराष्ट्रियस्तरमा उजागर गर्ने अवसर पनि प्रदान गर्छन्’, उनले भने।
पशुपति क्याम्पसका क्याम्पस प्रमुख विनोद पन्तले विद्यार्थीलाई सांस्कृतिक चेतना, अनुशासन र ज्ञानसँगै अगाडि बढ्न आग्रह गरे । नेविसंङ एकाइ समितिका अध्यक्ष सरोज लिम्बूले तीज सबै जातजाति र भाषा–भाषीबीच साझा पर्वका रूपमा विस्तार हुँदै गएको बताए ।






प्रतिक्रिया दिनुहोस्