काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) सम्बन्धी मार्गदर्शन, २०८१ मा पहिलो संशोधन गरेको छ । राष्ट्र बैंकले सिएसआर सम्बन्धी मार्गदर्शन २०८१मा पहिलो संशोधन गरेर २०८२ जारी गरेको हो ।
संशोधित मार्गदर्शनमा शिक्षा क्षेत्रमा हुने सिएसआरमा राष्ट्र बैंकले संकाय तोकेर फेलोसिप र रिसर्च ग्रान्ट गर्न निर्देशन दिएको छ । ‘विश्वविद्यालय तथा कलेजमा अर्थशास्त्र, कानुन र व्यवस्थापन संकायमा अध्ययनरत गरिब तथा न्यून आय भएका परिवारका विद्यार्थीलाई सम्बन्धित विश्वविद्यालय तथा कलेजले सिफारिस गरेको आधारमा स्नातकोत्तर, एमफील, पिएचडी अध्ययन अन्तर्गत गरिने शोध, अनुसन्धान कार्यका लागि फेलोसिप र रिसर्च ग्रान्ट’ राष्ट्र बैंकले जारी गरेको मार्गदर्शनमा भनिएको छ ।
यसैगरी, बैंक तथा वित्तीय संस्थाले सिएसआरको पैसा शिक्षा क्षेत्रमा खर्च गर्दा भूकम्पलगायतका प्राकृतिक प्रकोपबाट क्षतिग्रस्त गरिब तथा विपन्न वर्गको बाहुल्यता रहेका क्षेत्रका सरकारी÷सामुदायिक विद्यालय भवनको पुनः निर्माणमा जोड दिन पर्ने राष्ट्र बैंकको व्यवस्था रहेको छ । बैंक तथा वित्तीय संस्थाले सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा न्यून आय भएका परिवार का विद्यार्थीलाई प्रोत्साहित गर्न प्रदान गरिने विद्यालय पोसाक, शैक्षिक सामग्रीलगायतमा गरिने खर्चमा पनि आफ्नो सिएआरको पैसा खर्च गर्न पर्ने छ ।
यसैगरी, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई स्वास्थ्यको क्षेत्रमा न्यून आय भएका समुदायका नागरिकको निःशुल्क रूपमा गरिने मोतिया बिन्दुको शल्यक्रिया सम्बन्धी शिविरलगायत अन्य स्वास्थ्य शिविरमा गरिने खर्चमा सहयोग गर्न र गरिब, विपन्न तथा पिछडिएका समुदायमा भोकमरी, कुपोषण, अटिजम् भएका बालबालिका, गर्भवती तथा सुत्केरी महिलालाई पोषणयुक्त खाद्यान्न उपलब्ध गराउँदा हुने खर्चमा पनि सहयोग गर्नु पर्ने व्यवस्था गरेको छ ।
पूर्णपाठ
प्रतिक्रिया दिनुहोस्