Skip to content

आफ्नै घर जलेको पीडाकाबीच गभर्नर पौडेलले भेटे बैंक, वित्तीय संस्था र उद्योगी व्यवसायीका प्रतिनिधिः ‘अभिभावक पाएको महसुस भयो’

nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले जेनजी आन्दोलनको असरबारे बुझ्न बैंक तथा वित्तीय संस्थासम्बद्ध एसोसिएसनका प्रतिनिधि र उद्योगी व्यवसायीका प्रतिनिधिहरूसँग छुट्टाछुट्टै छलफल गरेका छन् ।

सोमबारबाट सुरु भएको आन्दोलनले मंगलबार खर्बौं खर्बको क्षति पुर्याएको छ । मंगलबार आन्दोलनकारीले निजी क्षेत्रलाई छानिछानी आक्रमण गरेका छन् । आक्रमणकारीले २ दर्जनभन्दा बढी होटलमा तोडफोड तथा आगजनीले २५ अर्बभन्दा बढी क्षति भएको होटल संघले जनाएको छ । आन्दोलनकारीले निजी उद्योगी व्यवसायीको घर तथा व्यवसायीमा छानिछानी तोडफोड गरेका छन् । भाटभटेनी २१ वटा स्टोरमा आन्दोलनकारीले क्षति पुर्याए । १२ वटामा पूर्ण ध्वस्त भएका छन् । उद्योगी विनोद चौधरी, उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छाको घरमा आक्रमण गरेका छन् । विभिन्न गाडीका सोरुम तोडफोड गरेका छन्। आन्दोलनकारीले वाणिज्य बैंकको बानेश्वर शाखामा लुटपाट गर्नुका साथै करिब ५ दर्जन एटिएम बुथमा लुटपाट गरेका छन् ।

यही बीचमा गभर्नर पौडेलको घरमा पनि आक्रमणकारीले तोडफोड तथा आगजनी गरेका छन् । गभर्नर पौडेलको ललितपुर र चितवनमा रहेको घरमा आगजनी गरेका छन् ।आफ्नो घर जलेको पीडा भुलेर गभर्नर पौडेलले शुक्रबार मध्याह्न बैंक तथा वित्तीय संस्था र उद्योग व्यवसायीका प्रतिनिधिलाई बोलाएर छलफल गरेका छन् ।

आजको भेटमा गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्था र उद्योगी व्यवसायीका प्रतिनिधिलाई जेनजी आन्दोलनबाट भोग्नु परेको पीडाका विषयमा जानकारी लिएका थिए ।

भेटमा आन्दोलनकारीले कसको व्यापार व्यवसायमा कस्तो क्षति भयो ? घर भवनमा के कस्तो क्षति भयो ? पीडितलाई कस्तो राहत दिने भन्ने विषयमा चासो देखाएको उपस्थित उद्योगीका एक प्रतिनिधिले बताए ।

गभर्नर पौडेलले उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शलाई आफ्ना सदस्यहरुको कहाँ के कति क्षति भयो त्यसको विवरण पेस गर्न आग्रह गरेका छन् । गभर्नर पौडेलले आन्दोलनले पारेको क्षति कम गर्न राष्ट्र बैंकले कसरी तत्कालीन र दीर्घकालीन रुपमा सहयोग गर्न सक्छ भन्ने विषयमा छलफल गरेको बताइएको छ ।

गभर्नर पौडेलले यस्ता समस्या समाधान गर्न मौद्रिक नीतिको समीक्षामा केही विषय समेटिने सकेतसमेत गरेका छन् । चालु आवको पहिलो त्रैमासको व्यवस्थापनका लागि उद्योगी व्यवसायीले बैंकले केही समयका लागि आधार दरमा कर्जाको अपेक्षासमेत गरेका छन् ।

जेनजी आन्दोलनको घाउ आलो नै रहेको समयमा गभर्नर पौडेलले बोलाएर समस्या सुन्दा आफूहरुले यस्तो पीडाकाबीच अभिभावक पाएको महसुस भएको चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले बताए ।

‘हामीलाई राष्ट्र बैंकबाट २ बजेका लागि बोलाइएको थियो । हामी तीनवटै संस्थाका प्रतिनिधि थियौ’ गभर्नर पौडेलको पनि २ वटा घर जलाएका छन् । आफ्नो पीडालाई भुलेर, मलिन अनुहारमा हाम्रा समस्याका बारेमा चासोका साथ सोधीखोजी गर्दा, समस्या समाधान गर्न के पहल गर्न सक्छु भनेको सुन्दा साँच्चै अभिभावक पाएको महसुस भयो । हामी धेरै नै खुसी छौं ।’

अब के गर्ने होला भनेर अन्यौलमा परेर बसेको समयमा गभर्नर पौडेलले बोलाएर समस्या सुनेपछि सबैको मनोबल बढेको, अभिभावकले काँध थापेको महसुस भएको मल्होत्राको भनाइ छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime