Skip to content

बैंकहरुको लिलामी बिक्नै छाड्यो, एक महिनामा गैर बैंकिङ सम्पत्ति पौने ४३ अर्ब 

nabil bank
काठमाडौं । पछिल्लो समय बैंकहरुले जफत गरेका धितोका रुपमा रहेका सम्पत्तिको लिलाम बिक्री न्यून हुन थालेको छ । समयमा धितो लिलामी नहुँदा सम्पत्तिहरू गैर बैंकिङ सम्पत्ति बढ्दै गएको छ ।
पछिल्लो समय अर्थतन्त्रमा मन्दी छाएको छ । जसका कारण उद्योगी व्यवसायीले बैंकको ऋण समयमा तिर्न नसक्दा बैंकले ऋणीबाट उठाउने धितो बापतको सम्पत्ति बढेको छ ।
बैंकहरुले कर्जा असुल गर्न नसके धितो जफत गरेर लिलामी बिक्री गर्ने व्यवस्था छ । तर पछिल्लो समयमा रियल स्टेटमा लगानी कम हुनु, खरिदकर्ताको लगानी मनोबल कमजोर हुनु, बैंकहरुकै उच्च ब्याजदर र तरलता समस्याका कारण लिलामीमार्फत सम्पत्ति बिक्री हुन नसक्दा ती सम्पत्ति बैंककै नाममा दर्ता हुने क्रम बढेको हो।
चालु आर्थिक वर्षको पहिलो महिनासम्म आउँदा वाणिज्य बैंकको गैर बैंकिङ सम्पत्ति पौने ४३ अर्ब रुपैयाँ नजिक पुगेको छ । यसैगरी, बैंकहरुले पछिल्लो केही समय यता निकालेका लिलामीका सूचना अनुसार पनि बैंकको लिलामी बिक्न सकेको छैन । जसको कारण बैंकहरुले लिलामीको पुनः सूचना जारी गरिरहेका छन् । केही दिन अगाडी एनआईसी एसिया बैंकले ३ पेजको लिलामीको सूचना जारी गरेको थियो ।
गैर बैंकिङ सम्पत्ति बढ्दा बैंकहरुले लिलामीबाट रकम असुल गर्न नगद प्रवाह (क्यास फ्लो) कमजोर हुने देखिएको छ । यसैगरी, कर्जा विस्तार क्षमता घट्दो अवस्थामा देखिएको छ । बैंकको यस्तो सम्पत्ति बढ्दा लाभांश वितरणमा दबाब पर्ने तथा पुँजी पर्याप्तता अनुपात (क्यापिटल एडुकेसि रेसियो) कमजोर हुने देखिन्छ ।
चालु आर्थिकको पहिलो महिनामा सबैभन्दा धेरै गैर बैंकिङ सम्पत्ति ग्लोबल आइएमई बैंकको रहेको छ । यस बैंकको यस्तो सम्पत्ति चालु आवको पहिलो महिनामा ६ अर्ब ५ करोड रुपैयाँभन्दा धेरै रहेको छ । यसैगरी, गैर बैंकिङ सबैभन्दा धेरै भएको दोस्रो बैंक हिमालयन बैंक रहेको छ । यस बैंकको यस्तो सम्पत्ति पौने ५ अर्ब रुपैयाँ बराबर रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
एनआईसी एशिया बैंकको यस्तो सम्पत्ति साढे ४ अर्ब रुपैयाँभन्दा धेरै रहेको छ । प्राइम बैंकको ३ अर्ब ९१ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ अर्ब ८२ करोड, नबिल बैंकको ३ अर्ब ४५ करोड, कुमारी बैंकको २ अर्ब ५२ करोड, लक्ष्मी सनराईज बैंकको २ अर्ब २२ करोड, एनएमबि बैंकको १ अर्ब ७९ करोड, प्रभु बैंकको १ अर्ब ६१ करोड र कृषि विकास बैंकको १ अर्ब ३१ करोड रुपैयाँ गैर बैंकिङ सम्पत्ति रहेको छ।
यस अवधिसम्म आउँदा स्टयार्ड चार्टर्ड बैंकको कुनै पनि गैर बैंकिङ सम्पत्ति छैन । यसैगरी, यस अवधिसम्म आउँदा सबैभन्दा थोरै गैर बैंकिङ सम्पत्ति भएको वाणिज्य बैंक राष्ट्रिय वाणिज्य बैंक रहेको छ । यस बैंकको यस्तो सम्पत्ति २५ करोड रुपैयाँ रहेको छ ।
यसैगरी, नेपाल बैंकको २६ करोड रुपैयाँ, एभरेष्ट बैंकको ५६ करोड माछापुच्छ्रे बैंकको ६० करोड, सिद्धार्थ बैंकको ७७ करोड नेपाल एसबिआई बैंकको ९४ करोड सानिमा बैंकको १ अर्ब, सिटिजन्स बैंकको १ अर्ब २६ करोड रुपैयाँ गैर बैंकिङ सम्पत्ति रहेको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime