काठमाडौं । अर्थ मन्त्रालयले कानुनी व्यवस्था बाहेक स्रोत नखुलेको नगद कहीँ कतै भेटिए प्रचलित कानुन बमोजिम अनुसन्धान तथा कारबाही गर्न सबै निकायलाई सक्रिय गराइएको जानकारी गराएको छ ।
भदौ २३ र २४ गते जेनजी आन्दोलनको क्रममा सिर्जना आगजनी हुँदा विभिन्न स्थानमा नगद समेत जलेको वा जलेको अवस्थामा भेटिएको भन्ने सूचना आएपछि यस्तो जनाएको हो । सरकारले सेवा वा वस्तुको खरिद बिक्री वा अन्य कारोवार वित्तीय संस्था वा बैंकिङ उपकरण मार्फत गर्ने गरी विद्युतीय कारोवारलाई प्रोत्साहित गरिरहेको स्मरण गराएको छ ।
विद्युतीय भुक्तानी मार्फत जुनसुकै सीमा सम्मको रकमको कारोवार गर्न सकिने भएकोले ठूलो परिमाणमा नगद सञ्चय गरेर राख्नु पर्ने आवश्यकता नरहेको जनाएको छ । आफ्नो जुनसुकै कारोबार सम्भव भएसम्म विद्युतीय भुक्तानी मार्फत गर्न सबैमा अनुरोध गरेको छ ।
प्रचलित कानुन बमोजिम आय आर्जन भएको र स्रोत खुलेको रकमको जुनसुकै परिमाण आफूसँग वा अन्य स्थानमा सुरक्षित राख्न र उपयोग गर्न कुनै बाधा व्यबधान नरहेको जनाएको छ । तर, विभिन्न व्यक्तिले स्रोत नखुलेको रकम आफ्नो निवास वा अन्यत्र लुकाई राखेको भन्ने सम्वन्धमा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ बमोजिम अनुसन्धान भइरहेको जनाएको छ ।
कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाले एकपटकमा दशलाख रुपैया वा सो भन्दा बढी मूल्यको कुनै सेवा वा वस्तुको खरिद बिक्री वा अन्य कारोवार गर्दा बैङ्किग उपकरण मार्फत गर्नु पर्ने। तर, कर सम्बन्धी प्रचलित कानूनले सीमा तोकेकोमा सोही बमोजिम हुने छ ।
नेपाल आउने नेपाली वा विदेशी नागरिकले अमेरिकी डलर ५ हजारसम्म भारतीय रूपैयाँको हकमा अमेरिकी डलर ५ हजार बराबर हुन आउने (भारतीय रूपैयाँसम्म र नेपाल राष्ट्र बैंकबाट विनिमय दर प्रकाशन नहुने अन्य विदेशी मुद्राको हकमा समेत अमेरिकी डलर ५ हजार बराबर सम्म) भन्सार घोषणा विना नेपालमा भित्र्याउन सक्ने र सो भन्दा बढी रकमको हकमा भने भन्सार घोषणा गरी प्रमाणित गराउनु पर्ने व्यवस्था रहेको छ ।
नेपाली नागरिकले विदेशमा रोजगारी वा विदेशमा व्यवसाय गरी आर्जन गरेको वा विदेश भ्रमणका लागि सटही सुविधा अन्तर्गत प्राप्त गरेको विदेशी मुद्रा मध्ये बचत हुन आएको विदेशी मुद्रा लगायत अन्य वैध स्रोतबाट प्राप्त विदेशी मुद्रा भविष्यमा उपयोग गर्ने प्रयोजनका लागि अधिकतम अमेरिकी डलर १ हजार ५०० वा सो बराबरको परिवर्त्य विदेशी मुद्रासम्म नगदमा राख्न सक्ने व्यवस्था रहेको छ ।






प्रतिक्रिया दिनुहोस्