काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको क्षतिबाट बीमा कम्पनीमा २३ अर्ब २३ करोड ३७ लाख २५ हजार रुपैयाँका दाबी परेको छ । यो रकम १८ वटा निर्जीबन बीमा कम्पनीमा परेको दाबी हो ।
प्राधिकरणका अनुसार बीमा कम्पनीमा ३ हजार १८७ बिमितले दाबी गरेका छन् । परेको दाबीमध्ये कम्पनीहरुले २ अर्ब ७९ करोड ७४ लाख ४७ हजार रुपैयाँ भुक्तानी दिएका छन् । यो रकम अग्रिम दाबी भुक्तानी समेतको हो ।
१८ वटा कम्पनीको परेको दाबीमा १५ वटा कम्पनीले मात्रै भुक्तानी गरेका छन् । तीन वटा कम्पनीले भने दाबीको भुक्तानी गरेका छैनन् । बीमा कम्पनीको परेको दाबीमा भुक्तानी नगर्ने कम्पनीमा सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी, नेशनल इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्स रहेका छन् ।
प्राधिकरणका अनुसार सबैभन्दा धेरै दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ५ अर्ब ४९ करोड ४८ लाख रुपैयाँको परेको छ । जसमा १ अर्ब २८ करोड ३ लाख रुपैयाँ भुक्तानी गरेको छ । दि ओरियन्टल इन्स्योरेन्समा ५ अर्ब २४ करोड ४० लाख रुपैयाँको दाबी परेको छ । जसमध्ये १ करोड ६६ लाख भुक्तानी गरेको छ ।
यस्तै शिखर इन्स्योरेन्समा २ अर्ब ४१ करोड २९ लाख रुपैयाँको दाबी परेको छ । जसमा ५८ करोड ३२ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

प्राधिकरणका अनुसार जेनजी आन्दोलनमा कोशी प्रदेशमा २ अर्ब ३२ करोड ४५ लाख रुपैयाँ दाबी पर्दा ३१ करोड ८४ लाख, मधेश प्रदेशमा ७० करोड ३ लाख रुपैयाँ दाबी परेकोमा ४ करोड ७१ लाख, बागमती प्रदेश प्रदेशमा १७ अर्ब ६१ करोड ६१ लाख रुपैयाँ बीमा दाबी परेकोमा २ अर्ब १५ करोड ५९ लाख, गण्डकी प्रदेशमा १ अर्ब ६९ करोड २२ लाख रुपैयाँको दाबी परेकोमा १५ करोड १८ लाख रुपैयाँको दाबी परेको छ ।
यस्तै लुम्बिनी प्रदेशमा ४७ करोड ४३ लाख रुपैयाँको दाबी परेकोमा ८ करोड ७८ लाख रुपैयाँ भुक्तानी, कर्णाली प्रदेशमा ९ करोड ९९ लाख रुपैयाँको दाबी पर्दा ९० लाख भुक्तानी, सुदुरपश्चिम प्रदेशमा ३२ करोड ६० लाख रुपैयाँको माग गरेकोमा २ करोड ७२ लाख रुपैयाँ भुक्तानी भएको छ ।
प्राधिकरणका अनुसार आन्दोलनमा सम्पत्तिमध्ये बिमा भएका ६ सय ७३ सम्पत्ति बिमा, २ हजार २ सय ७० मोटर बिमा, इन्जिनियरिङ तथा ठेकेदार बिमा १ सय ९२, परिवहन बिमा १२ र अन्य बिमा ४० गरी कुल ३ हजार १ सय ८७ माग दाबी परेको हो ।







प्रतिक्रिया दिनुहोस्