काठमाडौं । लुम्बिनी प्रदेशको औद्योगिक क्षेत्रमा जाने कर्जा अघिल्लो आर्थिक वर्ष (२०८१) को तुलनामा बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षसम्मको तथ्यांक अनुसार यस्तो क्षेत्रमा जाने कर्जा ६.९३ प्रतिशतले बढेको हो ।
२०८२ असार मसान्तसम्म यस क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले १ खर्ब ४१ अर्ब २ करोड ६० लाख रुपैयाँ कर्जा लगानी गरेका छन् । अघिल्लो आर्थिक वर्षमा यस क्षेत्रमा १ खर्ब ४१ अर्ब ३ करोड रुपैयाँ कर्जा लगानी भएको थियो ।
असार मसान्तसम्म आउँदा यस क्षेत्रमा कुल औद्योगिक कर्जामध्ये कृषि, विद्युत्÷ग्यास÷पानी, खानी, र धातुका सामान उत्पादन सम्बन्धी उद्योगमा प्रवाह भएको कर्जामा वृद्धि भएको छ । यसैगरी, गैर खाद्य वस्तु र निर्माण क्षेत्रमा प्रवाह भएको कर्जा भने घटेको छ ।
२०८२ असार मसान्तमा यस प्रदेशमा प्रवाह भएको कुल कर्जामा औद्योगिक कर्जाको हिस्सा २४.४३ प्रतिशत रहेको छ । प्रवाहित कुल औद्योगिक कर्जामध्ये सबैभन्दा बढी कृषि,बन तथा पेय पदार्थ उत्पादन सम्बन्धी उद्योगहरूमा ४३.६३ प्रतिशत रहेको छ भने सबैभन्दा कम विद्युत्÷ग्यास÷पानी सम्बन्धी उद्योगमा १.०० प्रतिशत रहेको छ ।
पछिल्लो समय यस क्षेत्रमा नियमित विद्युत् प्रवाहमा हुने अवरोध, कच्चा पदार्थको सहज उपलब्ध नहुने कारणले उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन नसकिरहेकोले सो अवरोधको व्यवस्थापन गरी उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने वातावरण बनाउनु चुनौती रहेको छ ।
नेपालका युवा तथा दक्ष जनशक्ति विदेश पलायन हुने क्रम बढी रहेको अवस्थामा युवा तथा दक्ष जनशक्ति लाई विदेश पलायन हुनबाट रोकी स्वदेशी उद्योगमा जनशक्तिको रूपमा प्रयोग गर्नु चुनौतीपूर्ण देखिएको राष्ट्र बैंकले सार्वजनिक गरेको अध्ययनले देखाएको छ । यसैगरी, बदलिँदो अस्थिर राज्य व्यवस्था, निरन्तर हुने आन्दोलनका कार्यक्रमले उद्योग व्यवसायलाई नकारात्मक प्रभाव पार्ने भएकाले उक्त वातावरणमा समेत उद्योग व्यवसायलाई सञ्चालन गर्न चुनौती रहेको छ ।
पछिल्लो समयमा देखिएको आर्थिक सुस्तता, बजार माग बढ्न नसकेको, गुणस्तरीय ऊर्जाको अभावले सिमेन्ट उत्पादन गर्ने उद्योगहरूलाई प्रभाव पारेकोले व्यवसायीहरूको मनोबल उच्च बनाइराख्नु चुनौतीपूर्ण देखिन्छ । यस प्रदेशमा सञ्चालनमा रहेको औद्योगिक क्षेत्र र भैरहवास्थित विशेष आर्थिक क्षेत्रलाई पूर्ण क्षमतामा सञ्चालन गरी आयात प्रतिस्थापन र निर्यातमा वृद्धि गर्नु चुनौतीपूर्ण देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्