काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा नेपालमा विप्रेषण (रेमिट्यान्स) आप्रवाह बढेको छ । चालु आवको असोज मसान्तसम्म विप्रेषण आप्रवाह ३५.४ प्रतिशतले बढेर ५ खर्ब ५३ अर्ब ३१ करोड पुगेको छ । गत आवको सोही अवधिमा विप्रेषण आप्रवाह ११.९ प्रतिशतले बढेको थियो ।
असोज महिनाको विप्रेषण आप्रवाह २ खर्ब १ अर्ब २२ करोड रहको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब ४४ अर्ब १७ करोड रहेको थियो । यो अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.२ प्रतिशतले बढेर ३ अर्ब ९४ करोड पुगेको छ । गत आवको सोही अवधिमा १०.६ प्रतिशतले बढेको थियो ।
यो अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ६ खर्ब १० अर्ब ६१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४ खर्ब ४३ अर्ब ७६ करोड रहेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या १ लाख २३ हजार ४५९ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ७७ हजार २५७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः १ लाख १० हजार ६५४ र ५९ हजार ९३९ रहेको थियो ।






प्रतिक्रिया दिनुहोस्