काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार बढेको छ । सोमबार सेयर बजार मापक नेप्से परिसूचक ९.७८ अंकले बढेर १५५०.३६ बिन्दुमा पुगेको छ । आज सेन्सेटिभ इण्डेक्स १.४३ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४७ अंक बढेको छ।
सेयर बजारसँगै आज कारोबार रकम पनि सामान्य बढेको छ। आइतबार ३ अर्ब ८९ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ३ अर्ब ९४ करोड ६० लाख ७४ हजार रुपैयाँबराबरका सेयर खरिदबिक्री भएको छ ।
आज कारोबारमा आएका १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक उपसमूहको परिसूचक सबैभन्दा धेरै १.५० प्रतिशत बढेको छ। आज होटल तथा पर्यटन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। सोमबार निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक सामान्य घटेको छ।
आज कारोबारमा आएका ४ कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज बन्दीपुर केबलकार एण्ड टुरिजम, सागर डिष्टिलरी, बुङ्गल हाइड्रो र झापा इनर्जीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यसैगरी, आज ग्रीन डेभलपमेन्ट बैंकको सेयरमूल्य करिब ९ प्रतिशत बढेको छ भने जोशी हाइड्रोपावरको सेयरमूल्य करिब ८ प्रतिशत बढेको छ। आज कारोबारमा आएको भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयरमूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यसैगरी, साहस उर्जा शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १८ करोड ३६ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ। यसैगरी, आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको साढे १६ करोडभन्दा बढीको सेयर किनबेच भएको छ भने शिवम् सिमेन्ट्सको कारोबार रकम १६ करोड नाघेको छ।






प्रतिक्रिया दिनुहोस्