काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नबिल बैंकलाई अविमोच्य अंसचिति अग्राधिकार सेयर निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले नेपालको इतिहासमा नै पहिलो पटक नबिल बैंकलाई अविमोच्य अंसचिति अग्राधिकार सेयर निष्कासन गर्न अनुमति दिएको हो ।
धितोपत्र बोर्डले नबिललाई ८ प्रतिशत लाभांश दरमा ५ करोड कित्ताका लागि अविमोच्य अंसचिति अग्राधिकार सेयर निष्काशनको अनुमति प्रदान गरेको हो । यसको निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ । बैंकको सेयर भुक्तानी अवधि नतोकिएको तर निश्चित प्रतिशतको लाभांश दर प्रदान गर्न सक्ने विशेषता भएको पुँजी बजार उपकरण हो ।
परिपत्र विधिबाट निष्काशन हुने यो सेयरमा संस्थागत लगानीकर्ताले मात्र लगानी गर्न पाउने छन् भने व्यक्तिगत लगानीकर्ता, सामूहिक लगानी योजना र बोर्डबाट अनुमति पाएका धितोपत्र व्यवसायीहरूलाई यसमा लगानी गर्न वञ्चित गरिएको छ । नेपाल राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार यो सेयर संस्थापक समूहको साधारण सेयरमा परिवर्तन हुने सम्भावना रहन्छ भने वितरण योग्य मुनाफा आर्जन गरेको वर्षमात्र कम्पनीले लाभांश वितरण गर्दछ । नोक्सानीमा रहेको वर्ष र संचित मुनाफाबाट लाभांश वितरण गर्न नसक्ने भएकोले यसलाई असंचिति प्रकृतिको अग्राधिकार सेयर भनिएको हो ।
खासगरी २००७र०९ को विश्वव्यापी वित्तीय संकटको अनुभवपश्चात् वित्तीय संस्थाको पुँजीगत संरचनालाई सदृढ बनाउन यस्तो उपकरण अन्तर्राष्ट्रिय पुँजी बजारमा प्रयोग हुँदै आएको परिप्रेक्ष्यमा नेपालमा भने पहिलोपटक निष्काशन हुन लागेको हो । अग्राधिकार सेयरधनीमा निहित अधिकारहरू भने विवरणपत्रमा कम्पनीले उल्लेख गरे बमोजिम हुनेछ । कम्पनी विघटनको समयमा यस सेयरको भुक्तानी साधारण सेयरभन्दा अगाडि र कम्पनीको साहू, निक्षेपकर्ता र पूरक पुँजीभन्दा पछाडी रहन्छ ।
यो उपकरणले बैंक तथा वित्तीय संस्थालाई दबाब परेको समयमा पुँजीगत संरचना सुदृढ बनाउने हुँदा वित्तीय संकटको जोखिमलाई न्यूनिकरण गर्ने र वित्तीय प्रणालीलाई स्थायित्व प्रदान गर्न सहज पुग्न सक्ने देखिन्छ । साथै, लगानीकर्तालाई पनि लगानीको नयाँ उपकरण उपलब्ध हुनेछ । यद्यपि, यो सेयर अविमोच्य र अंसचिति प्रकृतिको भएकोले संस्थागत लगानीकर्ताले लगानी गर्नु अगाडि विवरण पत्र र रिस्क डिस्कोलर स्टेटमेन्ट राम्रोसँग अध्ययन गर्नु अनिवार्य छ । साथै, आफ्नो जोखिम वहन गर्न सक्ने क्षमता हेरेर मात्र लगानी गर्न उपयुक्त हुन्छ ।
बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिकामा संशोधन गरी नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएका बैंक वित्तीय संस्थालाई मात्र यस्तो उपकरण निष्काशनको अनुमति प्रदान गर्न सकिने व्यवस्था गरेको छ । यो उपकरण दोस्रो बजारमा सूचिकरण हुने हुँदा संस्थागत लगानीकर्ताले दोस्रो बजारमा समेत कारोबार गर्न सक्नेछन् ।






प्रतिक्रिया दिनुहोस्