काठमाडौं । सिटिजन्स बैंकले गत आर्थिक वर्षको प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई १ करोड ६५ लाख ३२ हजार रुपैयाँ भुक्तानी गरेको छ । बैंकले लिएको उक्त तलब बापत सीईओले राज्यलाई ६८ लाख ७५ हजार २४ रुपैयाँ कर तिरेका छन् । कर पछि सीईओले ९६ लाख ५६ हजार ९७६ रुपैयाँ बुझेका छन् । कर बापत औषतमा राज्यलाई ३९ प्रतिशत तिर्नुपर्छ ।
बैंकले सीईओका लागि ८४ हजार रुपैयाँ तलब बापत भुक्तानी गरेको छ । यस्तै भत्ता बापत ५४ लाख रुपैयाँ, दशैं भत्ता बापत ११ लाख ५० हजार, संचयकोष योगदान बापत ८ लाख ४० हजार, बिदा बापतको भुक्तानी ७ लाख र अन्य शुल्क बापत ४२ हजार रुपैयाँ भुक्तानी गरेको छ ।
बैंकले सीईओलाई सवारी चालक, इन्धन र मर्मत सम्भारसहित सवारी साधनको व्यवस्था गरेको जनाएको छ । बैंकले सीईओलाई औषधी उपचार, बीमाको व्यवस्था गरेको जनाएको छ । साथै निजका आश्रित परिवारका लागि समेत औषधोपचार बीमा गरेको जनाएको छ । यस्तै सीईओ लगायत कार्यकारी तहका सम्पूर्ण अधिकृतहरूलाई बैंकको कर्मचारी सेवा विनियमावली अनुसार मोबाईल फोन वापतको खर्च तथा अन्य सुविधा प्रदान गरेको जनाएको छ ।
यस्तै बैंकले सञ्चालकलाई ३९ लाख ८५ हजार ५०० रुपैयाँ भुक्तानी गरेको छ । जसमा बैठक भत्ता बापत २९ लाख ३६ हजार रुपैयाँ रहेको छ । यस्तै टेलिफोन, मोबाइल, इन्धन, पत्रपत्रिका बापत १० लाख ४९ हजार ५०० रुपैयाँ भुक्तानी गरेको छ । बैंकको अध्यक्षलाई कार्यालय प्रयोजनको लागि सवारी साधन सुविधा प्रदान गरेको बैंकले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्