Skip to content

सात विकास बैंकले दिए लाभांश, कुनकाे कति ? 

nabil bank
काठमाडौं । गत आर्थिक वर्षको नाफाबाट हालसम्म आउँदा ७ विकास बैंकले लाभांश घोषणा गरेको छ । सोमबारसम्म आउँदा मितेरी डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक, महालक्ष्मी विकास बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र साङ्ग्रिला डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेका हुन् ।
मितेरी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरुलाई १० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई १० प्रतिशत नगद लाभांश मात्रै वितरण गर्ने निर्णय गरेको हो ।
यस बैंकले मङ्सिर ६ गते साधारणसभा गरेको छ । साधारणसभा र लाभांश वितरण प्रयोजनार्थ बैंकले कात्तिक २३ गतेदेखि मङ्सिर ६ गतेसम्म बुक क्लोज गरेको थियो । यसको अर्थ कात्तिक २३ गतेभन्दा अघिसम्म कायम सेयरधनीहरुले मात्रै यस बैंकको लाभांश हात पारेका छन् ।
यसैगरी, गरिमा विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ । जसमा बैंकले ६ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागि समेत गरी ४.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ । बैंकले आफ्नो १९औँ वार्षिक साधारण सभा कात्तिक २७ गते सम्पन्न गरी लाभांश पारित गरिसकेको छ ।
मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पुँजीको १८.२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमा बैंकले १३.५३ प्रतिशत बोनश सेयर वितरण गर्ने भएको छ भने ४.६७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बैंकले कात्तिक १५ गते साधारण सभा सम्पन्न गरी लाभांश पारित गरिसकेको छ ।
कामना सेवा विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमा बैंकले १० प्रतिशत बोनश सेयर वितरण गर्ने भएको छ । बैंकले कर प्रयोजन सहित ५.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । बैंकले साधारण सभाबाट लाभांश पारित गरिसकेको छ ।
महालक्ष्मी विकास बैंकले पनि आफ्ना सेयरधनीहरुलाई १० प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई १०.३७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । बैंकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ सहित ५.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सो दरमा लाभांश वितरण गरिनेछ ।
शाइन रेसुङ्गा डेभल्पमेन्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरुलाई कुल १३ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमध्ये बैंकले ३ प्रतिशत बोनश सेयर वितरण गर्ने निर्णय गरेको छ भने १० प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ ।
साङ्ग्रिला डेभलपमेन्ट बैंकले पनि  सेयरधनीका लागि कुल १०.३५८३ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र करसहित ५.३५८३ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । बैंकको लाभांश नेपाल राष्ट्र बैंक तथा साधारणसभाबाट स्वीकृत भएपश्चात् वितरण हुने कम्पनीले जनाएको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime