काठमाडौं । नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन–२०८२ का लागि सुझाव माग गरेको छ । यसमा सात दिन भित्र सुझाव दिनु पर्ने बोर्डले जनाएको छ ।
बोर्डले तयार पारेको मार्जिन कारोवार सुविधा सम्बन्धी निर्देशन, २०८२ (प्रारम्भिक मस्यौदा)मा मार्जिन कारोवारका लागि कम्तिमा ५० लाख कित्ता सर्वसाधारण सेयर सूचिकरण भएको, नेटवर्थ चुक्ता पुँजी बराबर र सो भन्दा बढी भएको, पछिल्लो तीन वर्षमा दुई वर्ष लाभांश वितरण गरेको, प्रारम्भिक सार्वजनिक निष्काशन मार्फत् निष्काशन भएको सेयर सूचिकरण भएको कम्तीमा दुई वर्ष पूरा भएको र धितोपत्र बजारले तोकेको अन्य व्यवस्थाहरु पुरा गरेको सूचिकृत संगठित संस्थाको मात्रै सेयर मात्र योग्य हुनेछ ।
मार्जिन कारोवार सुविधा प्रदान गर्ने धितोपत्र दलाल व्यवसायीको योग्यतामा बोर्डबाट अनुमतिपत्र प्राप्त गरेका धितोपत्र दलाल व्यवसायीले चुक्ता पुँजीको कम्तिमा २० करोड रुपैयाँ भएको, राफसाफ सदस्यता प्राप्त गरेको, निक्षेप सदस्यता प्राप्त गरेको र धितोपत्र बजारले तोकेको अन्य व्यवस्थाहरु पुरा गरेको हुनुपर्ने छ ।
यस्तै धितोपत्र दलाल व्यवासायीले मार्जिन कारोवार सुविधा दिनु अगावै लेखापरीक्षकबाट प्रमाणित आफ्नो वित्तीय विवरण सहित धितोपत्र बजारमा सहमतिको लागि निवेदन पेश गर्नु पर्नेछ । धितोपत्र बजारले उपदफा (१) बमोजिम प्राप्त भएको निवेदनका सम्बन्धमा आवश्यक अध्ययन गरी सहमति प्रदान गर्नेछ र सोको जानकारी बोर्डलाई समेत गराउनु पर्नेछ । यस निर्देशन लागू हुनुपूर्व धितोपत्र बजारबाट मार्जिन कारोवार सुविधा प्रदान गर्न सहमति लिएका धितोपत्र दलाल व्यवसायीले पुनः सहमति लिइराख्नु पर्नेछैन । तर, यस निर्देशन बमोजिम योग्यता पुगेको कागजात धितोपत्र बजारमा पेश गर्नुपर्नेछ ।
यस्तै सेयरको बजार मूल्यमा हुने परिवर्तनका कारण लगानीकर्ताले मार्जिन कारोवार सुविधा अन्र्तगत खरिद गरेको सेयरमा आवश्यक पर्ने सम्भार मार्जिन कायम गर्न नसकेमा धितोपत्र दलाल व्यवसायीले लगानीकर्तालाई मार्जिन कल गर्नुपर्नेछ । मार्जिन कल गरेपश्चात् आवश्यक मार्जिन कायम नगरेमा वा सम्पर्कमा नआएमा धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोवार सुविधा अन्र्तगत खरिद गरेका सेयर बिक्री गर्न सक्नेछ ।
धितोपत्र दलाल व्यवसायीले मार्जिन कल गर्ने तथा सेयर बिक्री गर्ने सम्बन्धी व्यवस्था स्पष्ट रुपमा आफ्नो कार्यविधिमा राख्नु पर्नेछ । सेयर बिक्री पश्चात् सम्बन्धित ग्राहकसँग हिसाब फछ्र्याैट गरी सोको जानकारी धितोपत्र बजारलाई गराउनु पर्नेछ । लगानीकर्ताले सम्भार मार्जिन कायम गर्न नसकेमा धितोपत्र दलाल व्यवसायीले लगानीकर्तासँग उक्त मार्जिन कायम गर्न आवश्यक रकम बराबरको धितोपत्र बजारमा सूचिकृत “ए” र “बी” वर्गमा रहेका संगठित संस्थाको सेयर धितो बन्दकीको रुपमा लिन सक्नेछ ।
उक्त शेयरको मूल्य गणना गर्दा १८० दिनको औषत मूल्य वा बजार मूल्यमध्ये जुन कम हुन्छ सोको ६० प्रतिशतले हुन आउने मूल्यलाई मात्र गणना गर्नुपर्नेछ । सेयरको बजार मूल्यमा हुने परिवर्तनका कारण सम्भार मार्जिन कायम हुन आएमा धितो बन्दकीमा राखिएको सेयर लगानीकर्ताको अनुरोधमा धितोपत्र दलाल व्यवसायीले फुकुवा गरिदिनु पर्नेछ ।
धितोपत्र दलाल व्यवसायीले आफ्नै स्रोतबाट, बैंक तथा वित्तीय संस्थासँग ऋण लिएर र आफ्नो शेयरधनी वा संचालकसँग असुरक्षित ऋण लिएर मार्जिन कारोवार सुविधा प्रदान गर्नसक्नेछ । धितोपत्र दलाल व्यवसायीले सेयरधनी वा संचालकसँग असुरक्षित ऋण लिदाँ प्रचलित कम्पनी सम्बन्धी कानूनमा भएको व्यवस्था पालना गर्नु पर्नेछ ।
धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोवार सुविधा प्रदान गर्न वाणिज्य बैंकसँग लिएको ऋण र आफ्नो शेयरधनी वा संचालकसँग लिएको असुरक्षित ऋण धितोपत्र दलाल व्यवसायीको नेटवर्थको ४.५ गुणाभन्दा बढी हुनुहुँदैन । धितोपत्र दलाल व्यवसायीले कुनै एक ग्राहकको नगद तथा शेयरलाई अन्य ग्राहकलाई मार्जिन कारोवार सुविधा प्रदान गर्न प्रयोग गर्न पाउने छैन ।
यस्तै धितोपत्र दलाल व्यवसायीले आफ्नो प्रमाणित नेटवर्थको पाँच गुणासम्म मार्जिन कारोवार सुविधा उपलब्ध गराउन सक्ने छ । धितोपत्र दलाल व्यवसायीले कुनै एक ग्राहक तथा निजको एकाघरका सदस्यलाई आफ्नो नेटवर्थको बढिमा २० प्रतिशतभन्दा बढी मार्जिन कारोवार सुविधा उपलब्ध गराउन सक्नेछैन । धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोवार सुविधा प्रदान गर्दा लगानी विविधिकरणलाई समेत ध्यान दिनुपर्नेछ ।






प्रतिक्रिया दिनुहोस्