काठमाडौं । नेपाल विद्युत प्राधिकरण र पिटिसी इन्डियाबीच भएको सम्झौता सम्बन्धमा नेपाल विद्युत प्राधिकरणले थप प्रष्ट पारेको छ । राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सोमबार प्राधिकरणले यसमा थप प्रष्ट पारेको हो ।
नेपालको राष्ट्रिय विद्युत प्रणालीमा नदी प्रवाहमा आधारित जलविद्युत आयोजनाको बाहुल्यता रहेकाले बर्षायाममा खपत भई बढि भएको विद्युत निर्यात गर्ने गरिएको छ । सुख्खायाममा केही महिना विद्युत माग व्यवस्थापनका लागि छिमेकी मुलुक भारतबाट विद्युत आयात गर्नु पर्ने बाध्यात्मक अवस्थामा नेपाल रहेको छ । नेपालले गतवर्ष २ अर्ब ३८ करोड युनिट विद्युत निर्यात गरिएको थियो भने १ अर्ब ६८ करोड युनिट विद्युत भारतबाट आयात गरिएको थियो ।
प्राधिकरणले भारतको उर्जा विनिमय बजार ९आईईएक्स० बाट डे अहेड, रियल टाइम बजार र विद्युत आदान प्रदान संयन्त्र मार्फत विद्युत आयात गर्दै आएको छ । तर केहि वर्षयता बढ्दो विद्युत मागका कारण भारतबाट गत वर्षको सुख्खायामका महिनाहरुमा सोलार आवर अर्थात बिहान ६ देखि बेलुकी ६ बजेसम्मको समयावधि तथा पिक आवर बाहेकको समयमा मात्र विद्युत खरिद गर्न सकिने गरी नेपालले सहमति पाएको छ ।
चालु आवमा पनि सोही अवस्था कायम रहने सम्भावना रहेकोले सुख्खायामको विद्युत व्यवस्थापनका लागि अग्रिम रुपमा केही परिमाणमा आधार आयातको रुपमा विद्युत खरिद गर्नु प्रणालीको आवश्यकता देखिएकोले उपलब्ध विकल्पहरुमध्ये सबैभन्दा उत्तम विकल्पमा विद्युत खरिद गर्न सम्झौता गरिएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले बताए ।
सिलवालले सोमबार राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा गराएको जानकारी अनुसार यसरी विद्युत खरिद गर्नका लागि द्धिपक्षीय सम्झौतामार्फत विद्युत खरिदका लागि २०८२ साउन १३ गते भारतीय सरकारी संस्थाहरुको समेत लगानी रहेको पिटिसी इन्डिया लि र भारतीय सरकारी निकाय एनटिपिसी विद्युत व्यापार निगम (एनभिभिएन) सँग प्रस्ताव माग गरिएको थियो ।
पिटिसी इन्डियाले २०८२ साउन २३ गते १ महिनाको समयावधि राखी (२०८२ भदौ २३ भित्रमा सम्झौता गरिएमा मात्र लागु हुने) भारु ६.७४ प्रतियुनिट मा (प्रशारण लस, राज्य र केन्द्र सरकार प्रशारण लाईन दस्तुर बाहेक) विद्युत बिक्रीको प्रस्ताव पेश गरेको छ ।
सिलवालका अनुसार प्राधिकरणको तर्फबाट गत भदौ १५ गते पिटिसी इन्डियालाई अघिल्लो प्रस्तावको कायम रहेको म्याद २०८२ भदौ २३ लाई १५ दिन थप गरी २०८२ असोज ७ सम्म कायम गर्न अनुरोध गरेको थियो । तर, तत्कालिन कार्यकारी निर्देशकको फ्रान्स र कोरिया भ्रमण साथै संचालक समितिबाट पिटिसी इन्डियाको प्रतियुनिट भारु ६.७४ को प्रस्तावका सम्बन्धमा कुनै निर्णय भएको थिएन ।
भदौ १८ मा एनभिभिएनबाट प्रतियुनिट (ल्यान्डेड ट्यारिफ) दर ७.७० भारु (प्रशारण लस तथा शुल्क सहित) मा ढल्केबर मुजफ्फरपुर बाट २०० मेगावाट र टनकपुर लाईन बाट ३० मेगावाट विद्युत विक्रीको प्रस्ताव प्राप्त भएको थियो । यसको समयसिमा नतोकिएको उनको भनाइ छ ।
प्राधिकरणले भदौ १९ गते एनभिभिएन लाई उक्त दरमा पुनरावलोकन गर्न अनुरोध गरेको थियो । भदौ २३ र २४ गते देशव्यापी जेनजी आन्दोलन भएको साथै तत्कालिन कार्यकारी निर्देशक देश बाहिर रहेको र सम्पर्कमा समेत नरहेको सिलवालको भनाइ छ ।
प्राधिकरणले भदौ ३१ गते पिटिसी इन्डियालाई बिहार तथा उत्तर प्रदेश का सवस्टेसन मार्फत १५० मेगावाट र ढल्केबर मुजफ्फरपुरबाट २०० मेगावाट विद्युत आयात गर्ने व्यवस्था गरिदिन साथै विद्युत खरिद दर समेत कम गरिदिन अनुरोध गरेको थियो । असोज १ गते पीटीसी इन्डियाले आफ्नो पुरानो प्रस्तावको म्याद थप गर्न नसकिने जानकारी गराएको थियो ।
यस्तै असोज १ गते एनभिभिएनले प्राधिकरणले विद्युत खरिद दर कम गरिदिन गरेको अनुरोधका सम्बन्धमा यसअघि प्रस्ताव गरेको प्रतियुनिट भारु ७.७० लाई प्रतियुनिट भारु ७.६७ गर्न सकिने जवाफ पठाएको सिवलालले समितिलाई जानकारी गराए ।
पीटीसी इन्डियाले प्राधिकरणको दर पुनरावलोकन प्रस्तावको सम्बन्धमा असोज ६ गते ढल्केबर(मुजफ्फरपुर ४०० केभी प्रशारण लाईन तथा १३२ केभी बिहार-नेपाल लाईन मार्फत २०२६ जनवरी देखि २०२६ मे सम्म हुने गरी भारु ६.९५ प्रतियुनिट ल्यान्डेड ट्यारिफ एट डेलिभरी प्वाइन्ट (प्रशारण लाईन लस तथा प्रशारण दस्तुर सहित) मा विद्युत बिक्रि गर्ने प्रस्ताव पेश गरेको थियो ।
त्यस अनुसार ढल्केबर-मुजफ्फरपुर लाईन बाट खरिद हुने पीटीसीको प्रस्ताव एनभिभिएनको तुलनामा प्रतियुनिट ०.७२ भारु कम रहेको छ भने नेपाल भारत विद्युत आदानप्रदान समिति पावर एक्सचेन्ज कमिटिले टेक एण्ड पे आधारमा आगामी मार्चसम्मका लागि १३२ केभी भोल्टेजमा प्रतियुनिट दर ८.१० भारतीय रुपैयाँ (भारु) को तुलनामा भारु १.१५ कम रहेको सिलवालको भनाइ छ ।
गतवर्षको सुख्खायाममा २३० मेगावाट विद्युत खरिद गर्नका लागि एनभिभिएनसँग प्रतियुनिट ७.०५ भारुमा सम्झौता गरिएको थियो। यद्यपि, भारतीय डेजीक्नेटेड अथोरिटीबाट सहमति प्राप्त नभएका कारण सो सम्झौता कार्यान्वयन हुन नसकेको उनको भनाइ छ ।
असोज १० गते प्राधिकरण संचालक समितिको १०१३ औं बैठकबाट पीटीसी इन्डियाको असोज ६ गतेको प्रस्ताव बमोजिम सन् २०२६ को जनवरी देखि मे महिनासम्म बिहार-नेपाल १३२ केभी प्रसारण लाइनहरुवाट ५० मेगावाट र ढल्केबर(मुजफ्फरपुर लाईनबाट १०० मेगावाट विद्युत राउन्ड दि क्लक (आरटिसी) मोडलमा प्रति युनिट भारु ६.९५ मा खरिद गर्न विद्युत नियमन आयोगको सहमति माग गर्ने साथै उल्लेखित प्रस्तावको म्याद असोज १२ सम्म मात्र रहेको हुँदा तत्काल एलओआई जारी गर्ने निर्णय गरेको थियो ।
संचालक समितिको निर्णयका आधारमा पीटीसी इन्डियालाई जारी गरिएको साथै विद्युत नियमन आयोगमा असोज १२ गते सहमति माग गरिएको थियो । पीटीसी इन्डियाबाट सम्झौता गरिएको विद्युत खरिद दर आईएक्सको गत वर्षको साँझ विहानको प्रतियुनिट उच्चतम दर १० भारु (सो दरमा विड गरेको परिमाणको विद्युत पाउने सम्भावना समेत कम रहेको) एनभिभिएनले प्रस्ताव गरेको दर तथा पीईसीले यसवर्षका लागि निर्धारण गरेको दर भन्दा कम रहेको सिलवालको भनाई छ ।
प्राधिकरण र पीटीसी इन्डिया बीच २०८२ असोज २७ गते विद्युत खरिद बिक्रि सम्झौता भएको थियो । सम्झौतामा नेपालको विद्युत नियमन आयोगबाट सहमति प्राप्त भईसकेको छ भने भारतीय डेजीक्नेटेड अथोरिटीमा कार्तिक १४ गते सहमतिका लागि पेश गरिएको छ । सम्झौता उक्त निकायबाट सहमति प्राप्त भएपश्चात मात्र कार्यान्वयनमा आउने उनको दाबी छ ।
पीटीसी इंडियासँग गरिएको सम्झौता नेपालको विद्युत नियमन आयोग र भारतीय डेजीक्नेटेड अथोरिटीको सहमति प्राप्त भएपश्चात मात्र कार्यान्वयनमा आउने उनले बताए । उक्त सम्झौतामा आयोगसँग परामर्श लिएरै हस्ताक्षर गरिएको थियो उनको भनाइ छ ।
यसका लागि आयोगबाट सहमति प्राप्त भईसकेको छ भने भारतीय डेजीक्नेटेड अथोरिटीमा सहमतिको लागि पेश गरिएको छ । यसअघिका सहमति प्राप्त अवधिलाई मध्यनजर गर्दा भारतीय निकायबाट सहमति प्राप्त हुने करिब २ महिनाको समय लाग्ने देखिन्छ ।
‘अघिल्लो वर्षको सुख्खायाममा विद्युत खरिद गर्न एनभिभिएन सँग नेपालको विद्युत नियमन आयोगबाट सहमति प्राप्त गरी सम्झौता गर्दा सम्झौतामा ढिलाई भई एनभिभिएन बाट समयमा डेजीक्नेटेड अथोरिटीमा सहमतिको लागि पेश हुन नसक्दा सम्झौता कार्यान्वयन हुन सकेको थिएन’ सिवलालले भने ।
यसअघि पनि सम्झौतामा हस्ताक्षर प्राधिकरण संचालक समितिबाट निर्णय भएपश्चात हुने र तत्पश्चात आयोग तथा भारतीय डेजीक्नेटेड अथोरिटीको सहमती प्राप्त भएपछी मात्र सम्झौता कार्यन्वयनमा आउने गरेको थियो ।
‘नेपालको निजी प्रबर्द्धकसँग गरिने विद्युत खरिद बिक्री सम्झौतामा समेत दुवै पक्षले हस्ताक्षर गरी सहमतिको लागि आयोग पठाईने र आयोगको सहमति प्राप्त भएपश्चात कार्यन्वयनमा जाने गरेको सिलवालले बताए । विद्युत खरिद गर्ने अवधिका सम्बन्धमा प्राधिकरणको तर्फबाट ५ महिना अवधिको लागी प्रस्ताव माग भएको थियो’ उनले भने. ‘पीटीसी इंडियाबाट ५ महिना अवधिको लागी नै प्रस्ताव प्राप्त भएको थियो तथा आशयपत्र समेत ५ महिनाको लागी जारी गरी ५ महिना नै विद्युत आयात गर्ने सम्झौता गरिएको हो ।’
प्राधिकरणले पीटीसी इंडियालाई असोज १० मा आशयपत्र जारी गरेको थियो । प्राधिकरणबाट जारी गरिएको पत्रमा भुलबस अन्यथा हुन गएकोले तत्काल उक्त पत्रमा मिति सच्च्याई २०२६ जनवरी देखि मे सम्म बनाई पत्र र ईमेल मार्फत सम्बन्धित पीटीसी इन्डियालाई जानकारी गराईएको उनको भनाई छ ।
पीटीसी इन्डियाबाट प्राधिकरणले करिब ६५ करोड २३ लाख २० हजार किलोवाट आवर (युनिट) आयात गर्न लागेको छ । पिटिसी इन्डियाबाट प्राधिकरणले ६.९५ रुपैयाँ भारुमा खरिद गर्दा ७ अर्ब २५ करोड ३७ लाख रुपैयाँ तिर्नुपर्छ ।
प्राधिकरण व्यवस्थापनले ३ दिन मात्र निर्णय गर्न ढिला गरेको भए प्राधिकरणले सोहि परिमाणको विद्युत एनभिभिएनसँग प्रतियुनिट ७.६७ मा खरिद गर्नुपर्ने अवस्था आउने उनको दाबी छ । नेपालले सोही परिमाणको बिजुली भारतबाट ल्याउन ८ अर्ब ५२ लाख ७१ हजार रुपैयाँ तिर्नुपर्ने उनले बताए ।
प्राधिकरणले थप ७५ करोड १४ लाख रुपैयाँ तिर्नुपर्थ्यो । यदि पीइसीबाट यहि परिमाणको बिजुली आयात गर्नु परेको भए ८ अर्ब ४५ करोड रुपैयाँ तिर्नुपर्थ्यो । जहाँ प्रतियुनिट ८.१० रुपैयाँ भारु तोकिएको छ । अर्थात नेपालले १ अर्ब २० करोड रुपैयाँ थप तिर्नुपर्ने अवस्था थियो ।
सन् २०२२ मे र जुन महिनामा प्राधिकरणले एनभिभिएन सँग ढल्केबर(मुजफ्फरपुर लाईन मार्फत प्रतियुनिट भारु १२ मा १५० मेगावाट विद्युत आयात गरेको थियो । त्यस्तैगरी सन् २०२४ अक्टोबर महिनामा २३० मेगावाट विद्युत सन् २०२५ फेब्रुअरी देखि मे २०२५ सम्म प्रतियुनिट भारु ७.०५ मा खरिद गर्न सम्झौता गरिएको थियो । यो सम्झौता नेपाल विद्युत प्राधिकरणको हालको सञ्चालक समिति र व्यवस्थापनले असल नियतका साथ उपलब्ध विकल्पहरु मध्ये सबैभन्दा उत्तम विकल्पमा हिउँदयमको विद्युत व्यवस्थापनका लागि गरिएको सिलवालले समितिमा बताए ।






प्रतिक्रिया दिनुहोस्