काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रणालीगत रूपमा महत्त्वपूर्ण बैंकहरूलाई पुँजीकाेष थप गर्नु पर्ने व्यवस्था गरेको छ ।
राष्ट्र बैंकको व्यवस्था अनुसार अब यस्ता बैंकहरूले आफ्नो पुँजीमा ०.२ देखि १ प्रतिशतसम्म अतिरिक्त पुँजीकोष ‘उच्च क्षति सहने क्षमता’ (हाइअर लस एब्जर्वेन्सी) राख्नु पर्ने व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले बैंकिङ प्रणालीमा स्थिरता कायम राख्न र प्रणालीगत जोखिम न्यून गर्न यस्तो व्यवस्था ल्याएको जानकारी दिएको छ । राष्ट्र बैंकले जारी गरेको यो नयाँ प्रणाली ‘आन्तरिक प्रणालीगत रूपमा महत्त्वपूर्ण बैंक फ्रेमवर्क २०२५’ छ। यो फ्रेमवर्क विशेष गरी ठुला बैंकहरूलाई केन्द्रित गरेर तयार पारिएको हो । जसले बैंकिङ प्रणालीमा कुनै पनि बैंक असफल हुँदा समग्र वित्तीय प्रणालीमा समस्या नहोस् भन्ने सुनिश्चित गर्दछ ।
सन् २००८ को विश्व वित्तीय संकटबाट सिकेका पाठ र बासेल कमिटी अन बैंकिङ सुपरभिजनका असल मापदण्डसँग मेल खाने गरी फ्रेमवर्क तयार गरिएको राष्ट्र बैंकले जनाएको छ । वित्त क्षेत्रमा कुनै पनि बैंक ‘टु बिग टु फेल’ नहोस् भन्ने उद्देश्यले प्रणालीगत जोखिम नियन्त्रणमा फ्रेमवर्क केन्द्रित भएको हो ।
फ्रेमवर्कले प्रणालीगत महत्त्वपूर्ण बैंकको पहिचान, प्रणालीगत जोखिम न्यूनीकरण, ठुलो तथा आपसमा अत्यधिक जोडिएका बैंकहरूको स्थायित्व वृद्धि, र आनुपातिक तथा जोखिम–आधारित सुपरिवेक्षण सुनिश्चित गर्ने लक्ष्य राखेको छ । प्रणालीगत महत्त्वपूर्ण बैंकको पहिचान सूचक–आधारित विधिबाट गरिने फ्रेमवर्कमा उल्लेख छ । फ्रेमवर्क अनुसार प्रणालीगत महत्त्वपूर्ण बैंकको छनोट गर्दा ४ संस्थाको आकारको भार ४० प्रतिशत हुनेछ भने इन्टरकनेक्टेडनेसको भार ३० प्रतिशत हुनेछ ।
यसैगरी, स्थायित्वको भार १५ प्रतिशत र कम्प्लेक्सीटीको १५ प्रतिशत भार रहने फ्रेमवर्कमा उल्लेख छ । यी सूचकहरूले बैंकको कुल एक्स्पोजर, वित्तीय क्षेत्रभित्रको सम्पत्ति दायित्व, भुक्तानी प्रणालीमा भूमिका, ट्रेडिङ गतिविधि तथा सीमा–पार कारोबारलाई स्पष्ट पार्ने पौडेलले बताए । प्राप्त प्रणालीगत स्कोरका आधारमा केन्द्रीय बैंकले ०.२० देखि १ प्रतिशतसम्मको ‘हाइअर लस एब्जरबेन्सी’ पुँजी थप गर्न सक्नेछ । यसरी थप गरिएको पुँजी २०८३ पुसदेखि लागु हुनेछ ।
प्रतिक्रिया दिनुहोस्