Skip to content
Prabhu

निर्यातका लागि नेपाली उत्पादनहरू मौलिक हुनुपर्नेमा अर्थमन्त्री डा. महतको जोड

 

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक वृद्धि, रोजगारी सृजना, राजश्व वृद्धि, र दिगो विकासलाई प्रवर्द्धन गर्न निर्यातकर्ताहरूले खेल्दै आएको भूमिका महत्वपूर्ण रहेको बताए । निर्यात व्यवसायी महासंघ नेपाल (फिन) को स्थापना दिवस तथा चौथो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले निर्यात व्यापारलाई देशको अर्थतन्त्रको मेरुदण्डका रुपमा विकास गर्न आवश्यक रहेको औंल्याए। 

अर्थमन्त्री डा. महतले महासंघको भूमिकाको प्रशंसा गर्दै भने, ‘तमाम निर्यात व्यवसायी साथीहरुको समर्पण र कडा परिश्रमले विश्व बजारमा नेपाली उत्पादनको बजार माग उकास्न र हाम्रो निर्यात क्षमता विस्तार गर्न महत्वपूर्ण योगदान रहदै आएको छ ।’

मन्त्री महतले निर्यात व्यवसायी महासंघ नेपालले उठान गरेका सवालहरु सबै जायज मागहरु रहेको उल्लेख गर्दै सरकारले चाहँदा चाहँदै पनि देशमा आर्थिक स्रोतको कमीका कारण तत्काल सम्बोधन गर्न नसिएको र निकट भबिष्यमा निर्यातकलाई सहुलियत उपलब्ध गराईने प्रतिबद्धता व्यक्त गरे । त्यसैगरी उनले भारतसँगको व्यापार सम्झौंताबाट फाइदा लिन छाडेर साफ्टाको बिषय उठाउन आवश्यक नरहेको प्रष्ट पारे । उनले निर्यात क्षेत्रको भविष्य निकै राम्रो रहेको बताउँदै निर्यातमुखी अर्थतन्त्रका लागि सरकारले वातावरण तयार पार्न सक्दो प्रयास जारी राख्ने समेत उल्लेख गरे । 

डा. महतले नेपाली उत्पादनहरु उच्च प्रविधियुक्त भन्दा पनि मौलिक हुनुपर्नेमा जोड दिए । उत्कृष्ट निर्यातकर्ताहरू सम्मानित वार्षिकोत्सवको अवसरमा महासंघले उत्कृष्ट निर्यातकर्ताहरूलाई सम्मान गरेको छ । सम्मानित हुनेहरूमा नेपाल पस्मिना इन्ड्रष्टिज एसोसिएसनबाट कर्केन कुमार गुरुङ, नेपाल ऊल फेल्ट प्रड्युसर्स एण्ड एक्पोर्टस एसोसिएसनबाट महेश्वर श्रेष्ठ, गार्मेन्ट एसोसिएसन अफ नेपालबाट शक्ति कुमार गोल्यान र फेडेरेसन अफ लार्ज कार्डामोम इन्टरप्रेनर्स अफ नेपालबाट इन्द्रकुमार अग्रवाल  छन् ।

त्यसैगरी, नेपाल ह्याण्डमेड पेपर एसोसिएसनबाट पद्मरत्न धाख्वा, नेपाल हर्बस एण्ड हर्बल प्रोडक्ट्स एसोसिएसनबाट प्रसुन सत्याल, नेपाल कार्पेट प्रड्युसर एण्ड एक्सपोर्ट एसोसिएसनबाट छेवाङ्ग डाम्डुल लामा, नेपाल जिन्जर प्रोडुसर्स एसोसिएसनबाट श्याम लिम्बु, अर्गानिक एसोसिएसनबाट अफ नेपालबाट तारा बास्कोटा, फेयर टेड ग्रुपबाट मिलन भटराई, हिमालयन अर्थोडक्स टिबाट निरज राठी, फुटवेयर म्यानुफयाक्चरर एसोसिएसनबाट नेपालबाट अमिर प्रताप जंग राना, नेपाल कथ्था उत्पादक संघबाट कैलाश चन्द्र गोयल, ह्याण्डिक्राप्ट ग्लास उद्योग फ्रफोसन एससिएसन अफ नेपालबाट गोपी प्रसाद कँडेल, नेपाल ब्रुम एसोसिएसनबाट संजिव शाह, नेपाल प्लाई म्यानुफयाक्चरर एसोसिएसनबाट बिष्णुमदोगदिया, नेपाल डेरी एसोसिएसनबाट निराजन कोइराला, रुद्राक्ष व्यवसायी संघबाट शालिक राम थापा र नेपाल कफी प्रोड्युसर्स एसोसिएसनबाट बोधराज अर्याल हुनुहुन्छ । सोही अवसर माझ निर्यात बुलेटिन २०८० का अतिथि सम्पादक सरोज ओझा र कथा नेपाललाई कदर पत्र प्रदान गरियो । 

फिनका अध्यक्ष शंकर प्रसाद पाण्डेको अध्यक्षता सम्पन्न कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव बैकुण्ठ अर्याल, सांसद् गणेश पराजुली, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, वाणिज्य सचिव नारायण प्रसाद शर्मा दवाडी, राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवाली, नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु, फिनका सल्लाहकार पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा, पूर्वसचिव चन्द्र कुमार घिमिरे, युरोपियन युनियनका नेपाल प्रतिनिधि एवं राजदुतहरु अतिथिका रुपमा कार्यक्रममा सहभागी थिए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal