Skip to content

चिराइतोको मूल्य वृद्धिले किसान उत्साहित

 

सङ्खुवासभा । बहुउपयोगी जडीबुटी चिराइतोको मूल्य बढेपछि सङ्खुवासभाका किसान उत्साहित भएका छन् । विगतका वर्षको तुलनामा यस वर्ष चिराइतोको मूल्यमा वृद्धि भएपछि सङ्खुवासभासहित पूर्वी पहाडी जिल्लाका किसान उत्साहित भएका हुन् । गत वर्ष चिराइतोको मूल्य कम हुँदा प्रभावित भएका किसान यो वर्ष मूल्यमा वृद्धि भएसँगै उत्साहित बनेका हुन् । 

अहिले चिराइतो प्रतिमन (४० केजी) ४४ हजार रुपैयाँका दरले कारोबार भइरहेको चिराइतो व्यवसायी आङजुङ भोटेले जानकारी दिए । केही वर्षअघि प्रतिकिलोग्राम दुई सयमा कारोबार हुने गरेको चिराइतोको मूल्य प्रतिकिलोग्राम एक हजार एक सयमा किनबेच भइरहेको व्यवसायी  भोटेले बताए । 

सोलुखुम्बु, दोलखा, रामेछाप र ओखलढुङ्गाबाट संकलन भएको पाँच हजार किलोग्राम चिराइतो काठमाडौं पठाइसकेको उनले बताए । सङ्खुवासभाको भोटखोला गाउँपालिका र भोजपुर जिल्लाबाट संकलन गरिएको करिब दुई हजार आठ सय किलोग्राम चिराइतो जिल्लाबाहिर पठाउन लागिएको व्यवयासी भोटेले बताए । हिमाली तथा पहाडी जिल्लामा चिराइतोलगायत जडीबुटीलाई प्रमुख आम्दानीको स्रोतका रूपमा लिने गरिएको छ । 

चिराइतो चीन, भारत र बङ्गलादेश निकासी हुँदै आएको छ । किसानले यस वर्ष चिराइतोबाट राम्रो आम्दानी लिएको व्यवसायी  भोटेले बताए । आफू पनि जडीबुटी खेतीमा आबद्ध रहेकाले अन्य किसानको चिराइतो संकलन गरेर बाहिर पठाएको उनको भनाइ छ ।  अहिले विभिन्न गाउँबस्तीमा व्यापारीले धमाधम चिराइतो खरिद गर्न थालेका छन्।  ज्वरो, दम, रुघाखोकी, मधुमेह, पिसाब पोल्ने, पेटको जुका, जिउ सुन्निएको, पोलेको  रोगका लागि यसका पात, डाँठ, जरा औषधिका रुपमा प्रयोग हुने गरेको छ । 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima