काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सरकारले आफ्नै मापदण्डविपरीत राजदूत नियुक्त गरेको आरोप लगाएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले परराष्ट्र मन्त्रालयले राजदूत नियुक्तिका लागि तय गरेको मापदण्ड सरकारले नै उल्लंघन गरेको दाबी गरेका हुन् ।
उनका अनुसार परराष्ट्र मन्त्रालयले तयार गरेको राजदूत नियुक्तिसम्बन्धी मापदण्डको १० नम्बर बुँदामा अन्तर्राष्ट्रिय वा विदेशी सहयोग परिचालित संस्थामा कार्यरत कर्मचारी राजदूतका लागि योग्य नहुने व्यवस्था गरिएको छ ।
त्यस्तै, मापदण्डको १४ नम्बर बुँदामा यसअघि कुनै विदेशी दाता तथा राज्यबाट तलबसहितको पदमा नियुक्त भएको व्यक्ति उक्त पदबाट अलग भएको कम्तीमा १० वर्ष पूरा भएपछि मात्रै राजदूत नियुक्त हुन सक्ने व्यवस्था रहेको शाहीले बताए ।
‘सरकारले आफैं बनाएको मापदण्ड आफैंले मिचेको छ,’ उनले भने । शाहीले अमेरिकाका लागि प्रस्तावित राजदूत चिरञ्जीवी थापा आस्पानको क्षेत्रीय सुरक्षा सल्लाहकारका रूपमा काम गरेको उल्लेख गर्दै उक्त नियुक्ति मापदण्डअनुकूल नभएको दाबी गरे ।
त्यसैगरी, स्पेनका लागि प्रस्तावित राजदूत प्राप्ति शेरचन विश्व बैंकअन्तर्गतको इन्टरनेसनल फाइनान्स कर्पोरेसन ९आईएफसी० मा कार्यरत रहेको र जर्मनीका लागि प्रस्तावित राजदूत सारु जोशीले यूएन वुमनलगायत अन्तर्राष्ट्रिय संस्थामा काम गरेको उल्लेख गर्दै शाहीले उनीहरूको नियुक्तिबारे पनि प्रश्न उठाएका छन् ।
शाहीले राजदूत नियुक्तिमा सरकारले आफ्नै मापदण्ड पालना गर्नुपर्ने बताएका छन् ।








प्रतिक्रिया दिनुहोस्