Skip to content
Prabhu

नेपाली बैंक कुनै हालतमा पनि डुब्ने अवस्था छैन्नः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ऋण लिनेले क्षमताभन्दा बढी लिएका कारण हालको समस्या निम्तिएको सोमबार बताएका छन् । आज नेपाल बैंकर्स संघले आयोजना गरेको ‘नेपालको बैंकिङ प्रणालीको पछिल्लो अवस्था’विषयक अन्तरक्रियामा गभर्नर अधिकारीले बैंकले पनि क्षमता हेरेर ऋण नदिँदा समस्या भएको बताएका हुन् । क्षमताभन्दा बढी ऋण लिएका कारण ऋणीले समयमा तिर्न नसकेको र अहिलेको समस्या देखिएको उनको भनाइ छ ।

अर्थतन्त्र संकुचनमा रहेको कारण बजारमा मागमा कमी आएको छ । त्यसैले अहिले ठूला ऋणीले ऋण माग्न सक्ने अवस्था नरहेको गभर्नर अधिकारीले बताए ।अहिले निर्माण क्षेत्रमा सुस्तता रहेको भन्दै उनले यसलाई गति दिन सके अर्थतन्त्र चलायमान हुने बताए । 

गभर्नर अधिकारीले यो वर्ष खराब कर्जा बढेको भन्दा पनि बैंकिङ क्षेत्रको वास्तविकता बाहिर आएको बताए । यसलाई अन्यथा लिन नहुने भन्दै उनले नेट एनपीए १.४० प्रतिशत हाराहारी रहेको उल्लेख गरे । ‘त्यसैले आत्तिनु पर्ने अवस्था छैन,’ उनले भने, ‘अहिले सेयरधनीलाई लाभांश नदिएर भए पनि प्रणाली सुधारमा लाग्न आवश्यक छ ।’ उनले अहिले कुनै एक बैंक डुब्न लाग्यो भनेर खुसी हुँदा त्यसले अरुलाई पनि असर गर्ने बताए ।

‘अहिले एउटा बैंक डुब्न लाग्यो भनेर अरु खुसी हुनुभन्दा पनि अरुलाई खाने बाघले आफूलाई पनि खाने हो कि भन्नेमा ध्यान दिनुपर्छ’ अधिकारीले भने ।  ‘म गभर्नर भएको बेला ७० अर्ब रहेको नाफा अहिले त्यहाँ पुग्न सक्ने अवस्था छ?’, उनले प्रश्न गरे , ‘अनि कसरी बैंक साहु महाजन भए?’

बैंक तथा वित्तीय संस्था डुब्दा कस्तो असर पर्छ भन्नेमा ध्यान दिनु पर्ने गभर्नर अधिकारीले बताए । बैंक तथा वित्तीय संस्था फेल नहुन् भनेर मर्जरको लहर चलाएको उनले बताए । राष्ट्र बैंकले ल्याउने नीति कुनै एक बैंकलाई मात्रै लक्षित नहुने भन्दै उनले सीडी रेसियोका विषयमा सुरुमा धेरै नै बिरोध भए पनि एनआईसी एसिया बैंकलाई सीडी रिसियोले सहयोग गरेको बताए ।

कुनै बैंकको पुँजी घट्दा असर पर्ने भए पनि राष्ट्र बैंकले असर पर्न नदिने र भरथेग गर्ने गभर्नर अधिकारीले बताए । पछिल्लो समय एनआईसी एसियाबाट २७ अर्ब ननिकालिएको उनको भनाइ छ । अधिकारीले राष्ट्र बैंकले नियमन गरेको संस्थालाई कुनै हालतमा पनि डुब्न नदिने पनि बताए ।

‘सहकारीमा समस्या परेपछि बैंकको रिपेमेन्टमा समस्या परेको छ,’ उनले भने, ‘अहिले सहकारीको १० प्रतिशत समस्या समाधान गरे बाँकि सहकारीको समस्या समाधान हुन्छ ।’

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal