Skip to content
Prabhu

बसाइँसराइले उजाडिएको गाउँमा रमाइरहेका पौडेल दम्पती

बागलुङ । वरपरका छरछिमेकी बसाइँसराइ गरेर कोही चितवन, कोही गैँडाकोट त कोही पोखरा गएका छन् । दिनप्रति दिन गाउँ सुनसान बन्दै छ । गाउँमा भएका युवा दिनहुँ विदेश पलायन भइरहेका छन् । घरमा भएका छोरोछोरी पनि पढाइका लागि बजार झर्न थालेका छन् । सेवासुविधाको खोजीमा गाउँले तराई झर्न थालेपछि बागलुङको जैमिनी नगरपालिका–४ सर्कुवा गाउँ सुनसान बन्न थालेको छ । 

सुनसान बन्दै गएको गाउँमा स्थानीय बाबुराम पौडेल र उनकी श्रीमती मायादेवी पौडेल भने व्यावसायिक मौरीपालनमा रमाई राखेकी छन् । बसाइँसराइले उजाड बन्न थालेको गाउँमा व्यावसायिक बन्दै गएका पौडेल दम्पतीलाई बसाइँसराइ गर्नुभन्दा गाउँमै उद्यमी बन्नु ठिक लाग्यो । अहिले उनीहरु धेरैका लागि प्रेरणाको स्रोत बनेका छन् । 

पौडेलले तराईमा घडेरीसमेत जोड्नु भएको छ । गाउँमा जस्तो स्वच्छ हावापानी र वातावरण नहुने हुँदा बसाइँसराइ नगरेको बाबुरामले बताए । उनको घरको बार्दली, कौसी, छानो र पिँढीभरि मौरीका घार छन् । घारमा मौरीले रस बनाइरहेका छन् । आधुनिक प्रविधि अपनाएर मौरीपालनमा लाग्नुभएका पौडेल दम्पतीले तरकारीसँगै सुन्तला खेती पनि गर्दै आएको छ । 

बाबुराम आफैँले आधुनिक मौरीको घार बनाउने हुँदा हरेक वर्ष हजारौँको खाली र मौरीसहितका घार बिक्री हुने गरेको उनले बताए। हातमा सीप र जाँगरले गर्दा सुनसान गाउँमा बाबुराम सफल उद्यमीका रुपमा चिनिन्छन् ।

पौडेलले बारीमा दुइटा हाइटेक टनेल बनाएर मौसमी तथा बेमौसमी तरकारीखेती गर्दै आएका छन् । पाँच वर्ष अगाडि लगाएका एक सय बोट सुन्तलाले पनि अहिले उत्पादन दिन थालेका बाबुरामले बताए । मौरीपालनलाई मुख्य पेसा बनाएको भन्दै लोकल कुखुरा, दूध, घ्युका लागि भैँसीसमेत पालन गरेको उनको भनाइ छ ।

गाउँमा थुप्रै छिमेकी धमाधम बसाइँसराइ गरे पनि यहाँ अवसर धेरै भएकाले गाउँ छोड्न नसकेको बाबुरामले बताए। दश वर्ष अगाडि साथीभाइको लहलहैमा मलेसिया पुगेर २२ महिना दुःख गरेको सुनाउँदै सङ्घर्ष गरे घरमै पनि प्रशस्त कमाइ गर्न सकिने उनको भनाइ छ ।

घरमा पहिले बाउबाजेको पालादेखि दुई÷चार घार मौरी पाल्दै आएको बताउँदै बाबुरामले अहिले आधुनिक तरिकाले व्यावसायिकरुपमा लागिएको जानकारी दिए। 

‘गाउँमा काठ जति पनि पाइन्छ, हातमा सीप भएकाले मौरीको घार आफैं बनाउँछु । पहिले मुडे घारमा मौरी पाल्ने चलन थियो, अहिले सबै आधुनिक घारमा राखेका छौँ”, बाबुरामले भने, ‘विदेश २२ महिना बसेर आएपछि स्वदेशमै केही गरौँ भन्ने लागेर व्यावसायिक मौरीपालन सुरु गरको हुँ । अहिले प्रशस्त आम्दानी भइरहेको छ ।’

आफूले मौरीपालन सुरु गर्दा कुनै तालिम नलिएको बताउँदै बाबुरामले व्यवसाय सुरु गरेको धेरै वर्षपछि मौरी विकास केन्द्र गोदावरीबाट तालिम लिएको जानकारी दिए । झण्डै डेढ दशकदेखि मौरीपालन गर्दै आए पनि आठ वर्ष अगाडि मात्रै फर्म दर्ता गरेर व्यवसायलाई व्यवस्थित गरेको उनको भनाइ छ ।

पौडेलले हाल ४० घार मौरी पालेका छन् । गत वर्ष एक सय घार मौरी रहेकामा केही बिक्री गरेको र २० घार बचेका उनको भनाइ छ । पोहोर साल धेरै घार मौरी अपरिचित रोगले मर्दा झण्डै पाँच लाख रुपैयाँ नोक्सानी व्यहोर्नु परेको बाबुरामले बताए । पौडेल दम्पतीले मौरीपालनबाटै दुई छोरोछोरीलाई पोखरामा पढाइ रादेका छन् । छोरीले आइटी इञ्जिनियर र छोराले कम्प्युटर विज्ञान पढिरहेका छन् । 

पौडेलकी पत्नी मायादेवी विहान सबेरै उठेदेखि साँझसम्म मौरीको हेरचार र बारीमा रहेका सुन्तला, टनेलमा गोडमेल र पानी लगाउने काम गर्छिन् । उनीहरुले आफ्नो जग्गा कतै पनि बाँझो राखेका छैनन् । बारीमा बाँझो जमिनमा लम्सी र फलफूलका बिरुवा लगाएका छन् । जमिनलाई उपयोग गर्ने मान्यताले सबै ठाउँमा विभिन्न प्रजातिका वनस्पतिका बिरुवा लगाइएको मायादेवीले बताए । गत वर्ष ४० घार मौरी बेचेकामा यस वर्ष भने कम भएको उनको भनाइ छ । 

महको माग धेरै हुने भएकाले बजारको अभाव नभएको मायादेवीले बताइन् । यस वर्षदेखि सुन्तला उत्पादन हुन थालेपछि पहिलो पटकमा ७० हजार रुपैयाँ बढीको बिक्री भएको उनले जानकारी दिइन् । तरकारीबाट पनि विस्तारै आम्दानी हुन थालेको भन्दै गाउँको माया र माटोप्रतिको सम्मानले गर्दा अन्त बसाइँ सर्न मनले नमान्ने उनले बताइन्। 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal