Skip to content
Prabhu

धार्मिक पर्यटकीयस्थल बन्दै अर्जुनधारा जलेश्वरधाम

भद्रपुर । पूर्वको प्रसिद्ध धार्मिकस्थलको रुपमा परिचित अर्जुनधारा नगरपालिका–७ झापास्थित अर्जुनधारा जलेश्वरधाम धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको छ ।
global
अर्घाखाँची सिमेन्ट
सरकारले उत्कृष्ट सयवटा पर्यटकीय गन्तव्यको सूचीमा अर्जुनधारा जलेश्वरधामलाई समावेश गरेपछि यसको धार्मिक तथा पर्यटकीय महत्व झनै चुलिएको छ । जलेश्वरधामका मूल गुरु अग्निप्रसाद सिग्देलका अनुसार यस धाममा दैनिक दुईदेखि तीन हजार भक्तजन आउने गरेका छन् ।
महाभारतकालीन इतिहास बोकेको जलेश्वरधामको आधुनिक संरचना विसं २०२३ बाट बनाउन सुरु गरिएको हो ।  पाँच बिघा क्षेत्रफलमा फैलिएको यहाँ बृहतत्तर विकास भइरहेको छ ।
जलेश्वरधाम क्षेत्र भित्र एक सय आठ शिवलिङ्ग तथा पार्वती मन्दिर, शनि मन्दिर, यज्ञशाला, मोक्षेश्वर शिव लिङ्ग, अर्जुनवाण मूल पोखरी, पाँचधारा, धान्यचल, कालीनाग मन्दिर, हनुमान स्तम्भ, सन्त निवास भवन, श्री हनुमान लक्ष्मीनारायण तथा नटराज गणपति मन्दिर र गौशला रहेका छन् ।
महाभारतकालमा पाण्डवलाई १२ वर्ष वनवासका साथ एक वर्ष अज्ञातवास भएको समयमा राजा विराटका हजारौँ गाईलाई कौरवले हरण गरेर भारतको गुवाहटी पु¥याएको र त्यो बेलामा अर्जुनले आफ्नो वाणको सहायताले अर्जुनधारा धाममा पानी निकालेर गाईलाई खुवाएको किंवदन्ती छ ।
विसं २०३९ देखि प्रत्येक वर्ष वार्षिक अनुष्ठान गर्दै आएको अर्जुनधारा जलेश्वर धामले हालसम्म ४२औँ वार्षिक अनुष्ठान सम्पन्न गरिसकेको मूल गुरु अग्नि प्रसाद सिग्देलले जानकारी दिए ।
धामभित्रै अर्जुनधारा संस्कृत विद्यापीठ समेत सञ्चालनमा छ । विद्यापीठमा ८० जनाले अध्ययन गरिरहेका छन् । कक्षा छ सम्मको पढाई हुने विद्यापीठमा आवासीय सुविधासहित निःशुल्क पठनपाठन गराइने श्री अर्जुनधारा जलेश्वर धाम व्यवस्थापनले जनाएको छ । त्यस्तै धामभित्रै रहेको गौशालामा २० वटा गाई पालन गरिएको छ ।
मुल गुरु सिग्देलले भने, ‘हाम्रो धाममा आउने ६० जनासम्म भक्तजनहरुलाई खानबस्न सहितको सुविधा समेत रहेको छ ।’ जलेश्वरधामको अधिकांश खर्च दान दातव्यबाट प्राप्त भएको रकमबाटै चल्ने गरेको छ । केही रकम संघीय सरकार स्थानीय सरकारले सहयोग गरेको उनले बताए ।
जलेश्वर धाममा नेपालभित्रका मात्र नभई भारतबाट समेत भक्तजन आउने गरेका छन् । अर्जुनधारा जलेश्वरधामको उचित प्रचार हुन नसकेको स्थानीयको गुनासो छ ।
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal