Skip to content

बेनी–जोमसोम सडकखण्डमा राति यात्रा नगर्न आग्रह

nabil
global ime

म्याग्दी । बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा बाढीपहिरोको जोखिम रहेकाले रातिको समयमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । वर्षाको समयमा हुनसक्ने सवारी दुर्घटनालाई मध्यनजर गर्दै रातिको सयममा यात्रा नगर्न अनुरोध गरिएको हो ।

राति यात्रा गर्दा बाढीपहिरोमा परिने र उद्धारमा समस्या हुने भएकाले यात्रा नगर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताए । सडकखण्डको म्याग्दी क्षेत्रमा जोखिमपूर्ण स्थानमा सूचनाबोर्ड राखिने उनले जानकारी दिए। ‘रातको समयमा यात्रा निकै जोखिमपूर्ण छ, बाढीपहिरोग्रस्त क्षेत्रमा सूचना बोर्ड राख्दैछौँ, ट्राफिक प्रहरीलाईसमेत रुटको अवस्थाका बारेमा जानकारी गराउने गरी खटाइएको छ’, प्रजिअ ढकालले भने ।

सडकको अवस्था हेरेर यात्रा गर्न सहजीकरण गरिने प्रजिअ ढकालको भनाइ छ । मंगलबार रघुगङ्गा गाउँपालिका–२ बैसरीमा पहिरोले इको भ्यानमा क्षति पुगेको थियो भने तीन जना यात्रुलाई सकुसल उद्धार गरिएको थियो । सडकखण्डअन्तर्गत म्याग्दी क्षेत्रमा करिब ६ स्थानमा सूचना बोर्ड राखिने छ भने उत्तरी म्याग्दी र मुस्ताङतर्फ साँझमा यात्रा गर्नेलाई पहिरोस्थलका बारेमा जानकारी दिने गरी बेनी, गलेश्वर, भुरुङ तातोपानी र दाना क्षेत्रमा प्रहरी खटाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा–बेनी–जोमसोम–कोरोला सडक आयोजनाको बेनी–लेतेसम्मको ३८ किलोमिटर सडक खण्डमा ३५ साना ठूला पहिरा छन् । तीमध्ये बैसरी पहिरो, सिरुवारी पहिरो, गुइँठेपहिरो र खामभित्ता पहिरो ‘अति जोखिमपूर्ण’ रहेका आयोजनाले जनाएको छ । गलेश्वर पहिरो, तातोपानी पहिरो, लाटाखोला पहिरो, रुप्सेछहरा र काप्रेभीर जोखिमपूर्ण पहिरोसहित सबै पहिरो व्यवस्थापनमा ७० करोड रुपैयाँभन्दा बढी खर्च हुने बताइएको छ ।

यसैगरी जिल्लाका ग्रामीण क्षेत्र जोड्ने सडकखण्डमा बाढीपहिरोका कारण सवारी आवागमनमा पर्ने असर, सवारी चालक र यात्रुलाई विपद्बाट हुनसक्ने क्षति, वर्षाको समयमा हुनसक्ने सम्भावित यात्राको जोखिम र सुरक्षित रहन चालक र यात्रुले अवलम्बन गर्नुपर्ने सुरक्षाका उपाय साथै सडकको अवस्थाबारे जिल्ला ट्राफिक प्रहरी कार्यालयले विभिन्न चेतनामूलक कार्यक्रम समेत गर्दै आएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima