Skip to content

१५ बीमा कम्पनीले अझै पुर्याउन सकेनन् पुँजी, धितोपत्र बोर्डबाट अनुमति नपाउँदा पुँजी वृद्धिमा समस्या

nabil bank

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुको पुँजी वृद्धिको योजना ल्याएको २ वर्षभन्दा बढी समय पुगिसक्दा पनि अझै केही कम्पनीले चुक्ता पुँजी पुर्याउन सकेका छैनन् । प्राधिकरणले २०७८ साल चैतमा एक वर्षका लागि भन्दै बीमा कम्पनीहरुले चुक्ता पुँजी वृद्धि गर्नुपर्ने नीति ल्याएको थियो ।

एक वर्षका लागि भनेर ल्याइएको त्यो योजना २ वर्षभन्दा धेरै भइसक्दा पनि अझै १५ बीमा कम्पनीले प्राधिकरणले तोकेको चुक्ता पुँजी पुर्याउन सकेका छैनन् । जसमा ८ जीवन बीमा कम्पनी छ भने ७ वटा निर्जीवन बीमा कम्पनी छन् । प्राधिकरणले पुँजी वृद्धि गर्नका लागि थपेको समय चालु आर्थिक वर्षको अन्तिमसम्म रहेको छ । यो अवस्थामा बीमा कम्पनीहरुले पुँजी वृद्धि गर्नका लागि ९ दिन बाँकी छ । तर, कम्पनीहरुले यो अवधिमा पुँजी वृद्धि गर्न सक्ने अवस्था कम हुँदै गएको छ ।

कम्पनीहरुले हकप्रद सेयर जारी गरेर पुँजी पुर्याउने योजनामा रहेका थिए । तर, धितोपत्र बोर्डमा अध्यक्ष नहुँदा कम्पीहरुले हकप्रद जारी गर्न नपाउँदा समस्या भएको बताएका छन् । अहिले चुक्ता पुँजी नपुगेका बीमा कम्पनीहरुले धितोपत्र बोर्डमा हकप्रद जारी गर्नका लागि अनुमति मागेर पठाएका छन् । अहिले बोर्डबाट हकप्रद स्वीकृति हुन सकेको छैन ।

बीमा प्राधिकरणले जीवन बीमा कम्पनीका लागि ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीका लागि २ अर्ब ५० करोड चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको थियो । जसअनुसार केही कम्पनीहरु मर्जर भएर पुँजी वृद्धि गर्न सफल भएका छन् भने केही कम्पनीहरुको मर्जर गर्दा पनि पुँजी पुग्न सकेको छैन ।

बीमा प्राधिकरणका अनुसार अहिले जीवन बीमा कम्पनीहरुमा राष्ट्रिय जीवन बीमा कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल), एशियन लाइफ, सानिमा रिलाइन्स, प्रभु महालक्ष्मी, सन नेपाल लाइफ इन्स्योरेन्स, रिलायवल लाइफ इन्स्योरेन्स र सिटिजन्स लाइफ इन्स्योरेन्स छन् ।

प्राधिकरणले दिएको समय अनुसार यी कम्पनीहरुले चालु आर्थिक वर्षको असार ३१ गत भित्र चुक्ता पुँजी पुर्याउनुपर्ने हुन्छ । अहिलेसम्म सरकारी स्वामित्वमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनीको चुक्ता पुँजी १८ करोड १० लाख रुपैयाँ मात्रै रहेको छ । यो अवस्थामा यो कम्पनीले ४ अर्ब ८२ करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउनुपर्ने देखिन्छ । सरकारी स्वामित्वको कम्पनी भएकाले यसलाई सरकारले पुँजी थपेर आवश्य पुँजी वृद्धि गर्न सक्छ ।

अहिले निजी क्षेत्रका बीमा कम्पनीहरुलाई पुँजी वृद्धि गर्नका लागि निकै समस्या भएको छ । अधिकांशले हकप्रद सेयर जारी गरेर पुँजी वृद्धि गर्ने योजना बीमा प्राधिकरणमा बुझाएका छन् । तर, लामो समयदेखि धितोपत्र बोर्डको अध्यक्ष नहुँदा त्यो विषयले सार्थकता पाउन सकेको छैन ।

प्राधिकरणले तोकेको ५ अर्ब पुँजी पुर्याउन बाँकी रहेका कम्पनी मध्ये एशियन लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ३ अर्ब ४० करोड रुपैयाँ रहेको छ । यो कम्पनीलाई १ अर्ब ६० करोड पुँजी अभाव रहेको छ। त्यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लाई २ अर्ब ३५ करोड पुँजी अभाव छ । यो कम्पनीसँग अहिले २ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ । यो पनि अहिले पुँजी वृद्धिका लागि हकप्रद जारी गर्ने प्रक्रियामा रहेको छ । यसको हकप्रद पनि धितोपत्र बोर्डको पाइपलाइनमा रहेको छ।

सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी ४ अर्ब १८ करोड रुपैयाँ रहेको छ । कम्पनीले अपुग पुँजीका लागि हकप्रद जारी गर्ने प्रक्रिया अघि बढाएको छ । यो कम्पनीलाई करिब ८२ करोड रुपैयाँ अपुग रहेको छ । त्यस्तै प्रभु महालक्ष्मी लाइफलाई पनि करिब ७१ करोड पुँजी वृद्धि गर्नुपर्ने छ । यो कम्पनीको अहिले ४ अर्ब २९ करोड चुक्ता पुँजी रहेको छ । यो कम्पनीले आवश्यक पुँजी पुर्याउनका लागि हकप्रद जारी गर्ने र बोनस सेयर जारी गर्ने योजना रहेको जनाएको छ । तर, हकप्रद जारी गर्नका लागि अनुमति बोनस वितरणमा पनि प्रभाव परेको छ ।

यता सन् नेपाल लाइफ इन्स्योरेन्सको १ अर्ब ८० करोड पुँजी अपुग रहेको छ । यो कम्पनीको अहिले ३ अर्ब २० करोड चुक्ता पुँजी रहेको छ । यो कम्पनीले पनि हकप्रद जारी गर्ने र त्यसपछि पनि अपुग रहेको पुँजी पुर्याउनका लागि बोनस जारी गरेर पुर्याउने लक्ष्य लिएको छ । त्यस्तै रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले प्राधिकरणले तोकेको चुक्ता पुँजी कायम गर्नका लागि अझै ३६ करोड बराबरको पुँजी सिर्जना गर्नुपर्ने हुन्छ । यो कम्पनीको अहिलेको ४ अर्ब ६४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ । यो कम्पनीले जगेडा र बोनस सेयर जारी गर्ने प्रक्रियामा रहेको जनाएको छ ।

त्यस्तै सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको अन्तिमसम्ममा १ अर्ब ७ करोड बढीको पुँजी वृद्धि गर्नुपर्ने छ । यो कम्पनीको हालको चुक्ता पुँजी ३ अर्ब ९३ करोड रुपैयाँ रहेको छ । यो कम्पनीले पनि जगेडा र बोनस सेयर जारी गरेर पुँजी वृद्धि गर्ने योजना प्राधिकरण समक्ष राखेको छ ।

त्यस्तै अहिलेसम्म ७ वटा निर्जीवन बीमा कम्पनीले चुक्ता पुँजी पु¥याउन सकेका छैनन् । प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरुका लागि २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको छ । प्राधिकरणको तथ्यांक अनुसार राष्ट्रिय बीमा कम्पनी, युनाइटेड अजोड इन्स्योरेन्स, नेको इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स कम्पनी र सानीमा जीआईसी इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी अपुग छ । यी कम्पनीहरुले चुक्ता पुँजी वृद्धिका लागि हकप्रद जारी गरेर पुँजी वृद्धि गर्ने योजना रहेको बताएका छन् ।

अहिलेसम्मको अवस्थामा राष्ट्रिय बीमा कम्पनीको चुक्ता पुँजी जम्मा २६ करोड ६६ लाख मात्रै रहेको छ । बीमा कम्पनी सरकारी स्वामित्वको भएकाले यसको पुँजी वृद्धिका लागि सरकारले नै प्रक्रिया सुरु गरेको जनाएको छ । बीमा कम्पनीलाई १ अर्ब ७४ करोड पुँजी अपुग छ । त्यस्तै युनाइटेड अजोड इन्स्योरेन्सको पनि प्राधिकरणले तोकेको पुँजी पुग्नका लागि ४० करोडको पुँजी वृद्धि गर्नुपर्ने छ । अहिले युनाइटेड अजोडको चुक्ता पुँजी २ अर्ब १० करोड रहेको छ । युनाइटेड र अजोड मर्ज भएर पनि पुँजी अपुग भए पछि यो कम्पनीले पनि हकप्रद जारी गर्ने योजनामा रहेको छ ।

त्यस्तै एनएलजी इन्स्योरेन्सको पनि १ अर्ब ५ करोड रुपैयाँ अपुग रहेको छ । यो कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । प्रभु इन्स्योरेन्सको पनि १ अर्ब १३ करोड रुपैयाँ चुक्ता पुँजी अभाव रहेको छ । यो कम्पनीले पनि चालु आर्थिक वर्षको अन्तिमसम्ममा यो पुँजी पुपुर्याउनुपर्ने छ । अहिले कम्पनीको चुक्ता पुँजी १ अर्ब ३७ करोड रहेको छ । त्यस्तै नेपाल इन्स्योरेन्स कम्पनीलाई पनि प्राधिकरणले तोकेको पुँजी पुर्याउनका लागि ८६ करोड पुँजी आवश्यक देखिन्छ । यो कम्पनीको अहिले १ अर्ब ६४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ । त्यस्तै सानिमा जीआईसी इन्स्योरेन्सलाई ५० करोडको पुँजी सिर्जना गर्नुपर्ने छ । यो यो कम्पनीको अहिलेको पुँजी २ अर्ब रुपैयाँ रहेको छ ।

अधिकांश बीमा कम्पनीलहरुले हकप्रद जारी गरेर पुँजी वृद्धि गर्ने योजनामा रहेका छन् । हकप्रदा जारी गर्ने प्रक्रियामा रहेको र त्यसबाट पनि तोकिएको पुँजी पुगेन भने बानस सेयर जारी गरेर पुँजी पुर्याउने योनजामा रहेको एशियन लाइफ इन्स्योरेन्सका सूचना अधिकारी होमबहादुर श्रेष्ठ बताए । हकप्रद जारी गर्नका लागि अनुमति नपाएकाले समस्या भइरहेको उनको भनाइ छ ।

नियामनकारी निकायले गर्दा नै समस्या भएकाले पुँजी वृद्धिमा समस्या लाइफ इन्स्योरेन्स कर्पोरेशनका सुचना अधिकारी सुदर्शन गिरीले जानकारी दिए । ‘अहिले हकप्रद जारी गर्ने प्रक्रियामा रहेका र अनुमति नपाएको अवस्था छ । हकप्रद जारी गर्ने अनुमति पाएसँगै पुँजी पुग्छ,’ उनले भने ।

हकप्रद जारी गरेर पुँजी पुर्याउने योजनामा रहेका कम्पनीहरुलाई धितोपत्र बोर्डका कारण समस्या भएकाले केही समय दिनुपर्ने अवस्था आएको बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले बताए । ‘अहिले पुँजी नपुगेका कम्पनीहरु राइट सेयरका लागि धितोपत्र बोर्डमा आवेदन दिएको अवस्था छ । नियामकले स्वीकृत नदिएकाले कम्पनीहरुलाई केही समयत दिनु पर्छ,’ उनले भने । कम्पनीको हकप्रद जारी गरेपछि प्राधिकरणले तोकेको पुँजी पुग्ने भएकाले केही समय थप्नुपर्ने उनको भनाइ छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi