Skip to content

पहिरामा परी मृत्यु भएकाको परिवारलाई राहत

कास्की । जिल्ला प्रशासन कार्यालय कास्कीले गत असार २७ गते राति पहिरामा परी मृत्यु भएकाहरुको परिवारलाई आज राहत रकम प्रदान गरेको छ ।

पोखरा महानगरपालिका–३२ चैनपुरस्थित बाह्रबीसेमा पहिरोमा परी ३ जनाको मृत्यु भएको थियो । घटनामा परेका १८ वर्षीया अनिता ओझा र ११ वर्षीया अनुष्का ओझाका परिवारलाई प्रशासनबाट ३ लाख रुपैयाँ राहत प्रदान गरिएको हो ।

यसैगरी सोही घटनामा परी मृत्यु भएका नौ वर्षीय प्रतीक सुवेदीको परिवारलाई रु दुई लाख प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले जानकारी दिए ।

सो राहत रकम प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले मृतकहरुको स्थायी घर रुपा गाउँपालिका–२ पेलुङ्गा पुगेर प्रदान गरेका हुन् । अनिता र अनुष्काका बुबा शिवराज ओझा र प्रतिकका बुबा पुष्पराजले राहत रकम बुझेका थिए।

नेपाल सरकारको विपद्का घटनामा परी मृत्यु भएका व्यक्तिलाई राहत उपलब्ध गराउने सम्बन्धी मापदण्ड, २०७७ बमोजिम जिल्ला विपद् व्यवस्थापन कोषबाट सो रकम प्रदान गरिएको सहाय प्रजिअ क्षेत्रीले बताए । राहत प्रदान गर्नका लागि प्रमुख जिल्ला अधिकारी पाण्डेसहित रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, रुपा–२ का वडाध्यक्ष राजन सुवेदीलगायत पुगेका थिए।

चैनपुर पहिरोमा परी घाइते भएका आरती ओझाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T