Skip to content
Prabhu

तौलको सन्तुलन नमिल्दा सौर्यको जहाज दुर्घटना भयोः छानबिन समिति

काठमाडौँ । सौैर्य एयरलाइन्सको विमान दुर्घटनाबारे अध्ययन गर्न बनेको समितिले विमानमा भएको तौलको सन्तुलन (लोड ब्यालेन्स) नमिलेका कारण दुर्घटना भएको बताएको छ । समितिले प्रारम्भिक प्रतिवेदेनमा तौल र टेकअफको गति नमिलेका कारण जहाजले उचाइ लिन नसकेको जनाइएको हो ।

मर्मतका लागि राखिएका सामग्री जहाजमा नबाँधेर राखेको, सबैतिर तौलको सन्तुलन नमिलाएका कारण जहाजले टेकअफ गर्ना साथ सामान सरेर सन्तुलन बिग्रिएको प्रारम्भिक निष्कर्ष निकालिएको छ । जहाजको इन्जिनमा कुनै खराबी नदेखिएको प्रतिवेदनमा जनाइएको छ ।

ब्यागेजसहित १८ हजार १३२ किलो तौलसहित जहाजले टेकअफ गरेको थियो । जसमा थप २००० किलो इन्धन थियो । ‘टेकअफ वेट’लाई तोकिएको जहाजको गति (भी स्पिड) नै गलत दिइएको निष्कर्ष समितिको छ । मर्मतका लागि उडेको जहाजलाई दिइएको अनुमतिको कार्यविधिसमेत पालना नभएको प्रतिवेदनमा उल्लेख छ ।

समितिले प्रारम्भिक रूपमा पाँचवटा विषय अनुसन्धानका लागि तय गरेको थियो । जहाजको तौल र सन्तुलन, टेकअफ गति, उडान अनुमति प्रक्रिया, मानवीय पक्ष र सेफ्टी म्यानेजमेन्ट प्रणालीका विषय पहिचान गरेको छ । प्रतिवेदनमा उडानअघि जहाज ३४ दिनसम्म ग्राउण्डेड गरिएको उल्लेख छ ।

सम्पूर्ण मर्मत अर्थात् ‘सी–चेक’का लागि साउन ८ गते पोखरा जाँदै गरेको सौर्य एयरलाइन्सको ९ एन–एनएएमई कलसाइन नम्बरको सिआरजे–२०० जहाज टेकअफ गर्ने बित्तिकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्रै दुर्घटनामा परेको थियो । दुर्घटनामा परेर १८ जनाको ज्यान गएको थियो । जसमा सौर्य एयरलाइन्सका प्राविधिक तथा कर्मचारी, एक बालक र तीन जना चालक दलका सदस्य गरेर १९ जना सवार थिए । दुर्घटनामा परेका पाइलटको घाइते अवस्थामा उद्धार गरिएको थियो । उनी उपचारपछि घर फर्किसकेका छन् ।

दुर्घटना अध्ययनका लागि सरकारले रतिशचन्द्र लाल सुमनको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो । दुर्घटनाग्रस्त जहाजको कागजी प्रक्रिया तथा सामान्य प्राविधिक परीक्षण गरेर प्रारम्भिक प्रतिवेदन तयार पारेको समितिले जनाएको छ । अन्तिम प्रतिवेदनका लागि विस्तृत प्राविधिक अनुसन्धान हुन बाँकी रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal