Skip to content
Prabhu

नेप्सेमा पुगेर अर्थमन्त्रीले सोधे ३०४० को विन्दुमा पुगेको नेप्से किन २५०० सयमा झर्यो ?

काठमाडौं । सेयर बजार लगातार रूपमा ओरालो लागिरहेको समयमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले नेपाल स्टक एक्सचेन्जको कार्यालय भ्रमण पुगेका छन् । नेप्से परिसूचक पछिल्लो समय ओरालो लागेपछि अर्थमन्त्री पौडेल यसको कारण खोज्न नेप्से पुगेका हुन् ।

नेप्से पुगेका अर्थमन्त्री पौडेलले ३० अर्ब पुगेको कारोबार रकम किन ६ अर्बमा आयो ? भन्दै प्रश्न गरेका थिए । त्यस्तै बजार किन २५ सयमा आएको भन्ने उनको जिज्ञासा थियो । ‘३० अर्ब बराबर कारोबार भएको सेयर बजार हाल घटेर ५ देखि ६ अर्बमा किन सीमित भयो,’ अर्थमन्त्रीले भने, ‘३०४० को विन्दुमा पुगिसकेको नेप्से पछिल्लो समय लगातार ओरालो लागेर २५०० सयमा किन झ¥यो ।’

नेप्सेको टीएमएस प्रणालीमा समस्या आउनुको कारणबारे पनि अर्थमन्त्री पौडेलले प्रश्न राखेका थिए । नेप्सेका प्रबन्धक निरञ्जन फ्युयालले अर्थमन्त्रीसामू सेयर बजार सुधारका विषयमा प्रस्तुति दिएका थिए ।

अर्थमन्त्री पौडेल बुधबार दिउँसो साढे २ बजे नेप्सेको कार्यालयमा पुगेका थिए । उनले नेप्सेको कारोबार प्रणालीमा विश्वसनियता नभएको समेत प्रश्न उठाए । ‘कुनै समय १२ बजेसम्म टिएमएस प्रणालीले काम गरेन त्यो किन भयो ? यो समस्या किन आइरहेको छ जवाफ खोज्नु परेको छ । ब्याजदर निरन्तर ओरालो लागि रहेको छ । तर, ब्याजदर घट्दासमेत किन कारोबार रकम बढेको छैन ?’ उनले भने ।

सो अवसरमा उनले लगानीकर्ताको विश्वास जित्ने, लगानी सुरक्षित र स्वथ्य प्रतिस्पर्धाको प्राथमिकतामा दिनु पर्ने बताए । ‘पुँजी बजारलाई दिगो विकासमा कसरी जोड दिने भन्ने विषय समेत हाम्रो माथि उठेका छन् । नकारात्मक कुरालाई निरोत्साहन गर्नु आवश्यक रहेको छ,’ अर्थमन्त्री पौडेलले भने । सेयर बजारमा पछिल्लो समय आएको गिरावटका विषयमा अर्थमन्त्रालय गम्भिर रहेको उनको भनाइ थियो ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal