काठमाडौं । नबिल बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज मंसिर ९ गते अन्तिम दिन रहेको छ । बैंकले ४० औं वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि मंसिर १० गते बुक क्लोज गर्दैछ । तसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनी मात्रै बैंकको सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
बैंकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको छ । उक्त निर्णय पारित गर्न मंसिर २७ गते बिहीबार काठमाडौंको राष्ट्रिय सभा गृहमा बिहान १० बजेदेखि सभा बस्दैछ । सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा वैदेशिक रणनीतिक साझेदारीमा जानका लागि सो सम्बन्धी कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने तथा गत आवमा संस्थागत सामाजिक उत्तरदायित्वमा भएको खर्च अनुमोदन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी गत आवका वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने, चालु आवका लागि लेखापरीक्षकको नियुक्ती गरी निजको पारिश्रमिक निर्धारण गर्ने र दुई जना सञ्चालककको निर्वाचन गर्ने एजेण्डा पनि सभाका लागि तय गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्