काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उद्योगी व्यवसायीलाई समस्या पर्दा बैंकहरुले सहजीकरण गर्नुपर्ने बताएका छन् । इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)द्वारा नेपाल बैंकर्स संघका नवनिर्वाचित कार्यसमितिको स्वागत एवं सम्मानका लागि आयोजित कार्यक्रममा गभर्नर अधिकारीले उद्योग तथा व्यवसायको सुरुआतदेखि नै व्यवसायीले ठूलो लगानी गर्ने भएकाले समस्या पर्दा बैंकले पनि त्यसमा सहजीकरण गर्न आवश्यक रहेको बताएका हुन् ।
‘कुनै उद्यमीले व्यवसाय गरिरहँदा ठूलो मेहनत गरेको हुन्छ, तर कुनै कारण वा योजनाअनुरुप काम नहुँदा समस्यामा पर्न सक्छ, यस्तो अवस्थामा बैंकले सहजीकरण गरिदिनसक्नुपर्छ’, उनले भने, ‘व्यवसायीलाई कालोसूची पार्नेतर्फ नगइ पनि प्राविधिक र वित्तीय रुपमा सहजीकरण पनि गरिदिँदा समस्या समाधान हुन्छ ।’उनले बैंक तथा वित्तीय क्षेत्र संवेदनशिल क्षेत्र भएकाले सञ्चारमाध्यमलाई पनि विषय उठानमा सहजगता अपनाउन सुझाव दिए । ‘यो निकै संवेदनशिल क्षेत्र हो केही नकारात्मक विषय आउँदा बैंकिङ क्षेत्रलाई असर गर्छ, सञ्चारमाध्यमले कसरी विषयवस्तुलाई उठान गर्छ र कसरी प्रस्तुत गर्छ भन्ने विषयले पनि असर राख्छ,’ उनले भने ।
त्यसअवसरमा नेपाल बैंकर्स संघका नवनिर्वाचित अध्यक्ष सन्तोष कोइरालाले बैंकिङ क्षेत्रमा अहिले पनि समस्या देखिएको उल्लेख गर्दै सरकारले सुरुदेखि नै व्यवस्थान गर्न आवश्यक रहेको बताए । उनले बैंकहरुले अहिले कर्जा रिकभरीमा समस्या भोगिरहेको समेत बताए । ‘कर्जा रिकभरीमा बैंकहरुले अहिले पनि समस्या भोगिरहेका छन्, लिलामीका लागि सिफारिस लिनका लागि अझै पनि समस्या छ, स्थानीय तहबाट सहजरुपमा सिफारिस नआउने समस्या छ, उनले भने ।












प्रतिक्रिया दिनुहोस्