काठमाडौं । बहुराष्ट्रिय मोबाइल सेवा प्रदायक एनसेल आजियाटा लिमिटेडले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ८ अर्ब रुपैयाँभन्दा धेरैको व्यापार गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको असोज मसान्तसम्म आउँदा ८ अर्ब १८ करोड ९० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो ।
कम्पनीले गत आर्थिक वर्षमा ३२ अर्ब ५४ करोड ५० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।यसैगरी, यस कम्पनीले सन् २०२४ मा ३४ अर्ब ६ करोड ८० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । यो कम्पनीले सन् २०२३ मा ३७ अर्ब ४४ करोड २० लाख रुपैयाँ र सन् २०२२ मा ३९ अर्ब ७२ करोड ५० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।
यसैगरी, यस कम्पनीको सञ्चालन आम्दानी (ओबिट्डा÷ओआई) पहिलो त्रैमाससम्म आउँदा ४९ प्रतिशत रहेको छ । कम्पनीको यस्तो आम्दानी गत आर्थिक वर्षमा ५० प्रतिशत, सन् २०२४ मा ५४ प्रतिशत, सन् २०२३ मा ५३ प्रतिशत र सन् २०२२ मा ५५ प्रतिशत रहेको थियो ।
सन् २००१ मा स्पाइस नेपाल प्रालिको रूपमा यो कम्पनी स्थापित भएको थियो । यस पछि कम्पनीले सन् २००५ मा नेपालमा दूरसञ्चार सेवा प्रदान गर्न थालेको हो । सुरुमा यस कम्पनीले मेरो मोबाइल ब्रान्डमा दूरसञ्चारको सेवा दिँदै आएको थियो ।
कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म आउँदा ऋण पनि पढाएको जनाएको छ । कम्पनीले पहिलेभन्दा १० अर्ब ६० करोड रुपैयाँ धेरै कर्जाको रेटिङ गराएको हो । एनसेल आजियाटाले चालु आवको पहिलो त्रैमासमा दीर्घकालीन तथा अल्पकालीन गरी कुल ३२ अर्ब ऋण लिन रेटिङ गराएको छ ।
कम्पनीले २० अर्ब रुपैयाँ दीर्घकालीन कर्जा रेटिङ गराएको छ । यो कर्जाको लागि रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी एलए’ रेटिङ प्रदान गरेको छ । यसैगरी, कम्पनीले अल्पकालीन कर्जाका लागि १२ अर्ब रुपैयाँको रेटिङ गराएको छ । कम्पनीको अल्पकालीन कर्जाको लागि इक्राले ‘इक्राएनपी एवान’ रेटिङ दिएको छ । यसअघि कम्पनीले २२ अर्ब ६० करोड रुपैयाँ बराबरको ऋणको रेटिङ गराएको थियो ।
यस कम्पनीको ८० प्रतिशत सेयर स्वामित्व वेस्ट इन्डिजको रेनोल्ड होल्डिङको नाममा छ । बाँकी २० प्रतिशत सेयर स्वामित्वको हिस्सा भने नेपाली कम्पनी सुनिभेरा भेन्चर्सको नाममा रहेको छ ।
युरोपियन टेलिकम जाइन्ट टेलियासोनेराले रेनोल्ड होल्डिङको स्वामित्व लिएपछि कम्पनीले सन् २०१० देखि ‘एनसेल’ ब्रान्डको नाममा सेवा दिँदै आएको थियो । कम्पनीको नाम सन् २०१६ मा फेरिएर एनसेल प्रालि बनेको थियो । त्यसपछि आजियाटा ग्रुपले रेनल्ड होल्डिङ किन्यो । त्यसपछि कम्पनीको नाम एनसेल आजियाटा लिमिटेड स्थापित भयो ।
सन् २०२३ मा आजियाटाले रेनोल्डमा रहेको आफ्नो पूर्ण स्वामित्व बेलायती कम्पनी स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बेचेको छ । स्पेक्ट्रलाइट नेपाली मुलका सिंगापुरे नागरिक सतीशलाल आचार्यको कम्पनी हो । यद्यपि नेपालको कानूनी अवरोध भएको कारण एनसेलको उक्त कम्पनीको स्पेक्ट्रलाइटको स्वामित्व हेरफेर प्रक्रिया सम्पन्न हुन सकेको छैन । जसको कारण एनसेलको कम्पनी नाम अझ पनि एनसेल आजियाटा लिमिटेड नै छ ।












प्रतिक्रिया दिनुहोस्