काठमाडौं । चालू आर्थिक वर्ष २०८२/०८३ को चैत मसान्तसम्म सञ्चालनमा रहेका १४ निर्जीबन बीमा कम्पनीहरुको नाफामा भारी गिरावट आएको छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन, गत वर्षको वर्षाका कारण आएको डुबानका कारण निर्जीबन बीमा कम्पनीहरुको नाफामा गिरावट आएको छ । जेनजी आन्दोलनका कारण निकै क्षति भएको छ । त्यसको दायित्व निर्जीबन बीमा कम्पनीमा परेको छ । जसको असर नाफामा देखिएको हो ।
चालु आवको चैत मसान्तसम्म निर्जीबन बीमा कम्पनीहरुको नाफा ४७.२ प्रतिशतले घटेर १ अर्ब २७ करोड १९ लाख ८९ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा कम्पनीहरुको नाफा २ अर्ब ४१ करोड ३ लाख ४६ हजार रुपैयाँ रहेको थियो ।
सञ्चालनमा रहेका १४ बीमा कम्पनीमध्ये एक कम्पनीको मात्रै नाफा बढेको छ । नाफा बढेको कम्पनीमा प्रभु इन्स्योरन्स रहेको छ ।
चालु आवको चैत मसान्तसम्म ओरियन्टल इन्स्योरेन्सको नाफा ३० करोड ६६ लाख ९५ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा कम्पनी १३ करोड ८३ लाख ४० हजार रुपैयाँ घाटामा थियो ।
प्राधिकरणका अनुसार सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीको नाफा २६.९७ प्रतिशतले घटेर २८ करोड ८९ लाख ५३ हजार, नेको इन्स्योरेन्सको नाफा ५५.६० प्रतिशतले घटेर नाफा १६ करोड ३९ लाख ५७ हजार रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) को नाफा ४७.१२ प्रतिशतले घटेर १३ करोड ३२ लाख १३ हजार, हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफा ६६.७३ प्रतिशतले घटेर ११ करोड ५ लाख ६८ हजार रुपैयाँ नाफा रहेको छ ।
त्यस्तै नेपाल इन्स्योरेन्सको नाफा ४०.५९ प्रतिशतले घटेर १० करोड ६० लाख १७ हजार, शिखर इन्स्योरेन्सको नाफा ८०.२३ प्रतिशतले घटेर ७ करोड ५ लाख ७५ हजार, सानिमा जीआईसी इन्स्योरेन्सको नाफा ७८ प्रतिशतले घटेर ५ करोड १३ लाख ६४ हजार, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा ९१.१५ प्रतिशतले घटेर ४ करोड १ लाख ३४ हजार रुपैयाँ रहेको छ ।
यस्तै एनएलजी इन्स्योरेन्सको नाफा ७१.७७ प्रतिशतले घटेर ३ करोड ४८ लाख १० हजार, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नाफा ९९.८३ प्रतिशतले घटेर ४ लाख ३८ हजार, युनाइटेड अजोड इन्स्योरेन्सको नाफा ६ करोड ९७ लाख ९० हजार ऋणात्मक रहेको छ भने नेशनल इन्स्योरेन्सको नाफा १७ करोड ६४ लाख ९९ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।
प्रतिक्रिया दिनुहोस्