काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्म आउँदा लघुवित्त वित्तीय संस्थाको नाफा बढेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म आउँदा सञ्चालनमा रहेका ५१ लघुवित्त वित्तीय संस्थाहरूले ७ अर्ब २४ करोड ४८ लाख ६१ हजार रुपैयाँ नाफा कमाउन सफल भएका छन् ।
गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा यस्तो कम्पनीहरूको नाफा ४३.१६ प्रतिशत बढेको हो । गत आर्थिक वर्षको चैत मसान्तसम्म ५१ लघुवित्त कम्पनीले ५ अर्ब ६ करोड ७ लाख ४८ हजार रुपैयाँमात्र नाफा आर्जन गर्न सफल भएका थिए ।
यस अवधिसम्म आउँदा ९ लघुवित्त वित्तीय संस्थाको नाफा घटेको छ । यस अवधिमा युनिक लघुवित्त, कालिका लघुवित्त, सिर्जनशिल, नेरुडे मिर्मिरे, सिवाईसी नेपाल, महिला लघुवित्त, आरएसडीसी, निर्धन उत्थान र साना किसान विकास लघुवित्त वित्तीय संस्था कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको हो ।
यसैगरी, चालु आर्थिक वर्षको चैत मसान्तसम्म आउँदा विजय लघुवित्त वित्तीय संस्था घाटामा रहेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्म ७ करोड ८० लाख ६८ हजार रुपैयाँ नाफा रहेको यस कम्पनी चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आउँदा २ करोड ६७ लाख ९६ हजार रुपैयाँ घाटामा रहेको छ ।
गत आर्थिक वर्षको चैत मसान्तसम्म घाटामा रहेका तीन लघुवित्त वित्तीय संस्था यस वर्षको चैत मसान्तसम्म आउँदा नाफा आर्जन गर्न सफल देखिएका छन् । सामूहिक लघुवित्त, मातृभूमि, मेरो माइक्रोफाइनान्स कम्पनी गत आर्थिक वर्षमा घाटामा थिए ।
यस अवधिसम्म आउँदा सबैभन्दा धेरै नाफा हुने लघुवित्त कम्पनी छिमेक लघुवित्त वित्तीय संस्था कम्पनी रहेको छ । यसैगरी, सबैभन्दा धेरै नाफा ‘ग्रोथ’ गर्ने कम्पनी इन्फिनिटी लघुवित्त वित्तीय संस्था कम्पनी रहेको छ।













प्रतिक्रिया दिनुहोस्