Skip to content

आधादर्जनभन्दा धेरै बीमा कम्पनी नेतृत्व विहीन, दर्जनौँ सञ्चालक माथि मुद्दा दायर

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले वित्तीय अपराधसम्बन्धी प्रकरणमा आधादर्जनभन्दा बढी बीमा तथा पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) र दर्जनौँ सञ्चालकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

मुद्दा दर्तासँगै आरोपितहरू स्वतः निलम्बनमा परेका छन्। निलम्बनमा परेसँगै नेपाल रि–इन्स्योरेन्स, हिमालयन रि–इन्स्योरेन्स तथा विभिन्न लघु बीमा कम्पनीका प्रमुख कार्यकारीहरू कम्पनीको जिम्मेवारीबाट बाहिरिएका हुन । अभियोगपत्रअनुसार दीपक भट्ट र सुलभ अग्रवालसँग सम्बन्धित वित्तीय अपराध प्रकरणमा मुछिएपछि बीमा क्षेत्रका सञ्चालकदेखि प्रमुख कार्यकारी अधिकृतसम्म कारबाहीको दायरामा परेका हुन्।

कारबाहीमा पर्ने प्रमुख कार्यकारी अधिकृतहरूमा नेपाल रि–इन्स्योरेन्सका सुरेन्द्र थापा, हिमालयन रि–इन्स्योरेन्सकी सीईओ उपासना पौडेल, लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सका रामकुमार यादव, क्रेष्ट माइक्रोका प्रतापमान श्रेष्ठ, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नरेशकुमार रोका, गार्डियन माइक्रो लाइफका चिरायु भण्डारी तथा नेपाल माइक्रो इन्स्योरेन्सका मृगेन्द्रनाथ रिमाल रहेका छन्।

यसै प्रकरणमा नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष तथा हालका सहसचिव मदन दाहाल पनि निलम्बनमा परेका छन् । प्राधिकरणका पूर्वअध्यक्ष शरद ओझा पनि अनुसन्धानको दायरामा परेका छन्। विशेष अदालतमा मुद्दा दर्ता भएसँगै आरोपितहरू सरकारी निकाय तथा सेयर बजारमा सूचीकृत कम्पनीहरूको कुनै पनि पदमा बस्न कानुनी रूपमा अयोग्य बनेका छन्। यस प्रकरणमा बीमा कम्पनीका दर्जनौँ सञ्चालकसमेत निलम्बनमा परेका छन्।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हिमालयन रि–इन्स्योरेन्ससँग सम्बन्धित विभिन्न कम्पनीका उच्च पदाधिकारी तथा सञ्चालकहरूमाथि पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ। मुद्दा दायर हुनेमा हिमालयन रि–इन्स्योरेन्सका स्वतन्त्र सञ्चालक सुभाष कुमार झुनझुनवाला, हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमेर शमशेर जबरा, हिमालयन सेक्युरिटिज बैंकर लिमिटेडका सीईओ सुवास बहादुर श्रेष्ठ, हिमालयन रि–इन्स्योरेन्सका कार्यकारी निर्देशक मनिष कुमार र तत्कालीन कार्यकारी निर्देशक दीपक कुमार श्रेष्ठ रहेका छन्।

यस्तै, कम्पनीका सञ्चालक राजिव मोर, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका अध्यक्ष आशिष श्रेष्ठ तथा हाल हिमालयन रि–इन्स्योरेन्सबाट निलम्बित शिशिर गैह्रे लगायतविरुद्ध पनि मुद्दा दायर गरिएको विभागले जनाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima