Skip to content

घरजग्गा व्यवसायमा उल्लेख्य सुधार, तेस्रो त्रैमाससम्म १ खर्ब ८३ अर्बको कारोबार

काठमाडौं । देशभरको घरजग्गा कारोबारमा उल्लेख्य सुधार देखिएको छ। नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागअन्तर्गत मूल्य महाशाखाले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२–८३ को तेस्रो त्रैमाससम्मको ‘घरजग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थिति’ प्रतिवेदनअनुसार घरजग्गा नामसारी कारोबार, कारोबार रकम, राजस्व र पुँजीगत लाभकर संकलन सबैमा वृद्धि भएको हो ।

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२–८३ को तेस्रो त्रयमाससम्म घरजग्गाको कुल कारोबार संख्या अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.४२ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो कारोबार ४.५२ प्रतिशतले घटेको थियो।

समीक्षा अवधिमा लिखतपारितअन्तर्गतको कारोबार ०.६२ प्रतिशतले बढेको छ भने राजीनामा कारोबार संख्या १२.१७ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमाससम्म घरजग्गा नामसारी कारोबार ३.२६ प्रतिशतले घटेको थियो।

यस अवधिमा कारोबार भएको कुल क्षेत्रफल १.६० प्रतिशतले बढेको छ। अघिल्लो वर्ष सोही अवधिमा कारोबार क्षेत्रफल १०.८४ प्रतिशतले घटेको थियो।

प्रतिवेदनअनुसार समीक्षा अवधिमा देशभर १ खर्ब ८३ अर्ब ९० करोड रुपैयाँ बराबरको घरजग्गा कारोबार भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो कारोबार १ खर्ब ७ करोडमा सीमित थियो।

घरजग्गा कारोबारबाट संकलन हुने राजस्व पनि २३.७२ प्रतिशतले बढेको छ भने पुँजीगत लाभकर संकलन ३१.४२ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ। त्यस्तै, आवासीय घरजग्गा कर्जासहित यस क्षेत्रमा प्रवाह भएको बैंक कर्जा ५.५५ प्रतिशतले बढेको छ।

प्रादेशिक विवरणअनुसार बागमती प्रदेशमा घरजग्गाको राजीनामा कारोबार संख्या सबैभन्दा धेरै ३३.०१ प्रतिशतले बढेको छ। विपरीत रूपमा मधेश प्रदेशमा यस्तो कारोबार ४.७९ प्रतिशतले घटेको छ। अन्य सबै प्रदेशमा भने राजीनामा कारोबार बढेको प्रतिवेदनमा उल्लेख छ। कारोबार भएको कुल क्षेत्रफलका आधारमा गण्डकी प्रदेशमा सबैभन्दा धेरै २४.८४ प्रतिशतले वृद्धि भएको छ भने मधेश प्रदेशमा ९।३३ प्रतिशतले कमी आएको छ।

यसैगरी, सातवटै प्रदेशमा घरजग्गा कारोबारको कुल मूल्य अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ। बागमती प्रदेशमा कारोबार मूल्य सबैभन्दा धेरै १३१.५२ प्रतिशतले बढेको छ भने मधेश प्रदेशमा सबैभन्दा कम २२.६७ प्रतिशतले वृद्धि भएको छ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा सातवटै प्रदेशमा २.५ देखि १० आना क्षेत्रफलका प्लटहरूको कारोबार सबैभन्दा बढी भएको छ। अघिल्लो आर्थिक वर्षमा भने मधेश प्रदेशमा २० आना भन्दा बढी क्षेत्रफलका प्लटहरूको कारोबार सबैभन्दा बढी भएको थियो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T