काठमाडौं । नेपाल धितोपत्र बोर्डले सूचीकृत कम्पनीहरूका लागि वातावरणीय, सामाजिक र सुशासन (इन्भाइरोमेन्टल, सोसियल एन्ड गभर्नेन्स–ईएसजी) सम्बन्धी ढाँचा तथा निर्देशिका तयार पार्ने भएको छ ।
धितोपत्र बोर्डले चालु आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रममा ईएसजी सम्बन्धी ढाँचा तयार पार्ने, निर्देशिका तयार पार्ने उल्लेख छ । सेबोनका अनुसार दिगो विकासलाई प्रोत्साहन गर्न इन्भाइरोमेन्टल रिपोर्टिङ, सोसियल इम्प्याक्ट रिपोर्टिङ, गभर्नेन्स इन्डिेकेटर्स र क्लाइमेट रिक्स डिस्क्लोजर समावेश भएको ईएसजी रिपोर्टिङ फ्रेमवर्क तयार गरिने भएको छ ।
अन्तर्राष्ट्रिय लगानीकर्ताको विश्वास अभिवृद्धि गर्नुका साथै पुँजी बजारलाई हरित तथा दिगो वित्त तर्फ उन्मुख गराउने फ्रेमवर्क तयार गर्न लागेको जनाइएको छ । यसले पुँजी बजारलाई हरित तथा दिगो वित्त तर्फ उन्मुख गराउने सेबोनको नीति रहेको छ ।
यस्तै सेबोनले चालु आवमा हरित बण्ड र दिगो वित्त कोषको निष्कासन तथा सञ्चालनमा जोड दिने भएको छ । हरित बण्ड तथा दिगो वित्त जस्ता उपकरणको विकासका लागि ग्रिन बन्ड निर्देशिका जारी गर्ने, क्लाइमेट फाइनान्स ढाँचा निर्माण गर्ने, ईएसजी आधारित परियोजनालाई प्राथमिकता दिने, कार्बन क्रेडिट फाइनान्सिङसँग पुँजी बजारलाई जोडने, अन्तर्राष्ट्रिय हरित फण्ड आकर्षित गर्ने जनाएको छ ।
नेपाल जलविद्युत, नवीकरणीय ऊर्जा, जलवायु परिवर्तन अनुकूलन तथा हरित पूर्वाधार परियोजनाका लागि वित्तीय स्रोत उपलब्ध गराउने नीति रहेको जनाएको छ । सेबोनका अनुसार चालु आवमा एक्सचेञ्ज ट्रेडेड फण्ड्स (ईटीएफ्स) सञ्चालन व्यवस्था गर्ने जनाएको छ ।
सेबोनले नेप्से इन्डेक्स ईटीएफ, बैंकिङ ईटीएफ, हाइड्रोपावर ईटीएफ, गभर्मेन्ट बण्ड ईटीएफ तथा ईएसजी ईटीएफ सञ्चालन सम्बन्धमा अध्ययन गर्ने/ गराउने भएको छ । साना लगानीकर्तालाई कम लागतमा विविधीकृत लगानी गर्ने अवसर प्रदान गर्ने जनाएको छ । यसले बजारको तरलता संस्थागत लगानी हुने अपेक्षा सेबोनको रहेको छ ।
अन्तर्राष्ट्रिय रूपमा पुँजी बजारको स्वरूप तीव्र रूपमा परिवर्तन भइरहेको छ । कृत्रिम बुद्धिमत्ता, ब्लक चेन, बिग डेटा, क्लाउड कम्प्युटिङ तथा डिजिटल पूर्वाधारले विश्वव्यापी पुँजी बजारलाई अझ पारदर्शी, सुरक्षित र प्रभावकारी बनाइरहेका छन् । दिगो वित्त, हरित ऋणपत्र, सामाजिक ऋणपत्र, ईएसजीमा आधारित लगानी, फिनटेक तथा डिजिटल सम्पत्तिसम्बन्धी बहसले वित्तीय क्षेत्रको स्वरूप परिवर्तन गरिरहेको छ । नेपालले अन्तर्राष्ट्रिय अभ्यास तथा प्रवृत्तिसँग समन्वय गर्दै आफ्नो पुँजी बजारलाई क्रमिक रूपमा आधुनिक, प्रतिस्पर्धी तथा विश्वसनीय बनाउनु आवश्यक रहेको सेबोनले जनाएको छ ।
दिगो विकास, वातावरणीय उत्तरदायित्व, सामाजिक उत्तरदायित्व तथा सुशासन (ईएसजी) सम्बन्धी अन्तर्राष्ट्रिय अभ्यासलाई चरणबद्ध रूपमा प्रोत्साहन गरिने सेबोनको नीति छ । ठुला सूचीकृत कम्पनीहरूलाई दिगोपन, जलवायु जोखिम, ऊर्जा दक्षता, सामाजिक उत्तरदायित्व तथा सुशासनसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न प्रोत्साहित गरिने जनाएको छ । जसले अन्तर्राष्ट्रिय लगानीकर्ताको विश्वास अभिवृद्धि गर्न सहयोग पुर्याउने जनाइएको छ ।
सूचीकृत कम्पनीहरूलाई वातावरणीय, सामाजिक तथा सुशासन (ईएसजी) सम्बन्धी मापदण्ड क्रमशः अवलम्बन गर्न प्रोत्साहित गरिने जनाएको छ । कम्पनीहरूको वातावरणीय प्रभाव, कार्बन उत्सर्जन व्यवस्थापन, ऊर्जा दक्षता, सामाजिक उत्तरदायित्व, श्रम अभ्यास, लैङ्गिक समानता तथा सुशासनसम्बन्धी सूचनाको प्रवाहलाई चरणबद्ध रूपमा संस्थागत गरिने नीति रहेको छ ।
दिगोपन प्रतिवेदनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप क्रमिक रूपमा लागू गर्ने दिशामा आवश्यक तयारी गरिने नीतिमा रहेको छ ।
सेबोनको नीति तथा कार्यक्रममा अन्तर्राष्ट्रिय सहकार्य सम्झौताहरू, विदेशी संस्थागत लगानीकर्ताको सहभागिता, अन्तर्राष्ट्रिय मापदण्डको कार्यान्वयन, ईएसजी प्रतिवेदन अपनाउने कम्पनीहरूको सङ्ख्या तथा पुँजी बजारसम्बन्धी अन्तर्राष्ट्रिय मूल्याङ्कनमा नेपालको प्रगतिलाई दीर्घकालीन सूचकका रूपमा अनुगमन गरिने उल्लेख छ ।







प्रतिक्रिया दिनुहोस्