काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्र बजारको कारोबारलाई थप सुदृढ, प्रभावकारी तथा विश्वसनीय बनाउन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई १९ बुँदे निर्देशन दिएको छ। धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८४ को उपदफा (१०) ले दिएको अधिकार प्रयोग गर्दै बोर्डले उक्त निर्देशन जारी गरेको हो।
बोर्डले ग्राहकले प्रयोग गर्ने कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) सम्बन्धमा लगानीकर्ताबाट गुनासो प्राप्त भएकाले नेप्सेबाट स्वीकृति प्राप्त प्रणालीको आईटी अडिट गरी त्यससम्बन्धी प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ।
यसैगरी, धितोपत्र कारोबार प्रणाली (एनओटीएस) मा देखिँदै आएका समस्या पहिचान गरी नयाँ उपकरणहरूको कारोबारसमेत सहज हुने गरी प्रणालीलाई थप आधुनिक, सक्षम र सुरक्षित बनाउन बोर्डले निर्देशन दिएको छ।
धितोपत्र कारोबार व्यवस्थापन प्रणालीमा कृत्रिम बौद्धिकता (एआई) आधारित प्रविधिको प्रयोगबाट कारोबार गर्न सकिने व्यवस्थाका सम्बन्धमा अन्तर्राष्ट्रिय अभ्यास, नेपालको आवश्यकता, नेप्सेको पूर्वाधार तथा आवश्यक कानुनी व्यवस्थाबारे अध्ययन गरी प्रतिवेदन पेश गर्न भनिएको छ। साथै, अर्को व्यवस्था नभएसम्म कारोबार प्रणालीसँग जोडिएका सम्पूर्ण टीएमएसमा एआई आधारित प्रविधिको प्रयोगबाट कारोबार आदेश प्रविष्ट भएको पहिचान गरी त्यस्तो आदेश रोक्ने व्यवस्था गर्न र लगानीकर्तालाई जानकारी गराउन सूचना प्रकाशन गर्न निर्देशन दिइएको छ।
नयाँ लगानीकर्ता तथा विद्यार्थीलाई शेयर बजारका प्राविधिक अभ्यास गराउन सञ्चालनमा ल्याइएको आधिकारिक डेमो ट्रेडिङ प्लेटफर्म निरन्तर र अवरोधरहित रूपमा सञ्चालन हुने व्यवस्था मिलाउन पनि बोर्डले भनेको छ। धितोपत्र कारोबार सञ्चालन ९चौथो संशोधन० विनियमावली, २०८२ को विनियम ७ बमोजिम बजार मूल्य निर्धारणसम्बन्धी व्यवस्था प्रभावकारी रूपमा लागू गर्न तथा दोस्रो बजार कारोबार मोबाइल एपमार्फत गर्न आवश्यक व्यवस्था मिलाउन निर्देशन दिइएको छ।
हाल सीडीएस एन्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको सी–आस्बारसम्बन्धित प्रणालीअन्तर्गतको व्यवस्था धितोपत्र कारोबारका लागि खोलिने टीएमएस खातामा समेत लागू गर्न आवश्यक व्यवस्था मिलाउन बोर्डले भनेको छ। नेप्से सूचकाङ्कलाई अल इन्डेक्सका रूपमा कायम राख्दै फ्रि फ्लोट सेयरको आधारमा नयाँ सूचकाङ्क विकास गरी बेन्चमार्क सूचकाङ्कका रूपमा प्रयोग गर्ने व्यवस्था तत्काल अघि बढाउन निर्देशन दिइएको छ। यसका लागि बोर्डबाट आवश्यक सहजीकरण गर्नुपर्ने विषयसमेत पेश गर्न भनिएको छ।
फ्रि फ्लोट सेयरका आधारमा नयाँ सूचकाङ्क विकास गरी त्यसलाई बेन्चमार्क सूचकाङ्कका रूपमा प्रयोग गर्ने र सोही आधारमा सर्किट ब्रेकरको नियम पुनरावलोकन गर्ने व्यवस्था गर्न पनि निर्देशन दिइएको छ। बोर्डको निर्देशनबमोजिम सुचारु गरी स्थगन गरिएको कारोबार सत्रको अन्तिम १५ मिनेटको कारोबारलाई आधार लिई नेप्से सूचकाङ्क गणना गर्ने विधिलाई पुनः सुचारु गर्न सकिने वा नसकिने विषयमा अध्ययन गर्न भनिएको छ।
यसैगरी, कारोबार समयको अन्त्यमा हुने मार्केट अर्डरको व्यवस्थापन तथा सूचीकृत कम्पनीको दोस्रो बजार कारोबारमा लागू भइरहेको दैनिक १५ प्रतिशतसम्मको घटबढसम्बन्धी सर्किट ब्रेकर व्यवस्था पुनरावलोकन आवश्यक भए–नभएकोबारे अध्ययन गरी सुझावसहित एक साताभित्र बोर्डमा पेश गर्न निर्देशन दिइएको छ।
सूचीकृत कम्पनीहरूको वित्तीय सबलता, तरलता तथा संस्थागत सुशासनको अवस्थाका आधारमा कम्पनी वर्गीकरण गर्ने प्रक्रियालाई थप वस्तुनिष्ठ बनाउन पनि बोर्डले निर्देशन दिएको छ।
पूँजी, प्रतिफल, तरलता लगायतका आधारमा लगानीयोग्य तथा अनुमानयोग्य नेप्से सूचकाङ्कहरू, जस्तै नेप्से–२० तथा नेप्से हाई क्याप, लगायतका सूचकाङ्कलाई विविधीकरण गर्दै नेप्से सूचकाङ्कलाई स्थापित अन्तर्राष्ट्रिय मापदण्डअनुरूप बनाउन प्रचलित सूचकाङ्क गणना गर्ने संस्थासँग सहकार्य अघि बढाउन भनिएको छ।
हाल गणना भइरहेको सेन्सेटिभ इन्डेक्सलाई कानुनी तथा प्रक्रियागत व्यवस्था मिलाएर पुनरावलोकन गर्न, संगठित संस्थाको सूचीकरणपश्चात् पहिलो कारोबार मूल्य निर्धारणसम्बन्धी व्यवस्थालाई अन्तर्राष्ट्रिय अभ्यासअनुरूप वैज्ञानिक बनाउन पनि निर्देशन दिइएको छ।
त्यस्तै, लामो समयदेखि सूचीकरणमा रहेर पनि दोस्रो बजारमा सक्रिय कारोबार नभएका सूचीकृत कम्पनीहरूको सम्बन्धमा कानुनी तथा प्रक्रियागत सुधार आवश्यक भएरनभएको अध्ययन गरी सिफारिस गर्न बोर्डले भनेको छ।
सूचीकृत संगठित संस्थाका आधिकारिक सूचना प्रवाहका लागि नेप्सेको पोर्टलमा छुट्टै व्यवस्था तथा आवश्यक पोर्टल विकास गरी लागू गर्न पनि निर्देशन दिइएको छ।
बोर्डले वित्तीय साक्षरता विस्तारमा समेत जोड दिँदै नेप्सेलाई महिनामा कम्तीमा एउटा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको छ। अन्तिममा, धितोपत्र कारोबारको टीं२ अवधिमा ग्राहकलाई रकम उपलब्ध गराउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न पनि बोर्डले निर्देशन दिएको छ।
सेबोनका यी निर्देशनले कारोबार प्रणालीको प्रविधिगत सुधार, एआईको सम्भावित प्रयोग तथा नियमन, मोबाइलबाट कारोबार, सूचकाङ्कको पुनर्संरचना, सर्किट ब्रेकरको पुनरावलोकन, कम्पनी वर्गीकरण, सूचना प्रवाह, वित्तीय साक्षरता तथा लगानीकर्तालाई रकम उपलब्ध गराउने प्रक्रियासम्मका विषयलाई समेटेको छ।






प्रतिक्रिया दिनुहोस्