काठमाडौं । जेनजी आन्दोलनमा अभिभावक गुमाएका बालबालिका र भोटेकोशी–त्रिशुली बाढीबाट प्रभावित बालबालिकाले यस वर्षको राष्ट्रिय बाल दिवस एकै थलोमा मनाएका छन्। गोल्याण ग्रुपको सामाजिक संस्था गोल्याण फाउण्डेशनको आयोजनामा नुवाकोटको विदुरमा भएको कार्यक्रममा दुवै समूहका बालबालिकाले भेटघाट, खेलकुद र मनोरञ्जनात्मक गतिविधिमा सहभागी हुँदै मित्रताको साइनो जोडेका हुन्।
एक वर्षअघि जेनजी आन्दोलनका क्रममा अभिभावक गुमाएका बालबालिका र गत भदौ १० गतेको बाढीबाट घरबार तथा आफन्त गुमाएका बालबालिकालाई एकै स्थानमा भेला गरी बाल दिवस मनाइएको फाउण्डेशनले जनाएको छ। कार्यक्रममा बालबालिकाले फेस पेन्टिङ, विभिन्न खेल तथा मनोरञ्जनात्मक गतिविधिमा सहभागी हुँदै आफ्नो पीडा बिर्सेर खुसी साटासाट गरेका थिए।
गोल्याण फाउण्डेशनकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति गैह्रेले बालबालिकाको मानसिक अवस्था सकारात्मक बनाउन र उनीहरूलाई नयाँ साथीहरूसँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन्।
उनका अनुसार फाउण्डेशनले एक वर्षदेखि जेनजी सहिदका सन्तानको शैक्षिक सहयोग गर्दै आएको छ भने पछिल्लो समय बाढी प्रभावित बालबालिकाका लागि विदुर नगरपालिका–५ स्थित चन्द्रज्योति माध्यमिक विद्यालयको होल्डिङ सेन्टरमा भोजन, शैक्षिक सामग्री तथा बालमनोसामाजिक परामर्श कार्यक्रम सञ्चालन गरिरहेको छ।
बाल दिवसका अवसरमा काठमाडौंमा अध्ययनरत १५ जना जेनजी सहिदका सन्तान तथा उनीहरूका अभिभावकलाई विदुर ल्याइएको थियो। चन्द्रज्योति माविमा आश्रय लिइरहेका करिब ६० जना बाढी प्रभावित बालबालिकासँग उनीहरूको भेटघाट गराइएको थियो। कार्यक्रममा बालबालिका र अभिभावक गरी करिब १२० जनाको सहभागिता रहेको फाउण्डेशनले जनाएको छ।
विदुर नगरपालिका–५ का वडा सदस्य विनोद चित्रकारले फरक–फरक मनोसामाजिक अवस्थाबाट गुज्रिरहेका बालबालिकालाई एकै स्थानमा ल्याएर बाल दिवस मनाउनु सकारात्मक पहल भएको बताए। उनले बालबालिकाको खुसी सुनिश्चित गर्नु समाजको साझा जिम्मेवारी भएको सन्देश कार्यक्रमले दिएको उल्लेख गरे।
सहिद परिवारका सदस्य पार्वती अधिकारीले कार्यक्रमले बालबालिकाको अनुहारमा मुस्कान थपेको बताइन्। उनका अनुसार जेनजी सहिदका सन्तानले नयाँ साथी पाएका छन् भने अभिभावकहरूले पनि बाढी प्रभावित परिवारको पीडा नजिकबाट बुझ्ने अवसर पाएका छन्।
सीईओ गैह्रेले बालबालिकाको हाँस्ने, खेल्ने र सपना देख्ने अधिकार सुरक्षित गर्नु फाउण्डेशनको प्राथमिकता रहेको बताइन्। उनले विपत्ति र पीडाका बीच पनि बालबालिकाको बालसुलभ खुसी जोगाइराख्न यस्ता कार्यक्रम आवश्यक रहेको उल्लेख गरिन्।
गोल्याण फाउण्डेशनले हाल जेनजी सहिदका ३१ जना बालबालिकालाई कक्षा १२ सम्म अध्ययनका लागि शैक्षिकवृत्ति उपलब्ध गराउँदै आएको छ। फाउण्डेशनका अनुसार उनीहरूलाई मासिक ४० हजार रुपैयाँका दरले वार्षिक ४ लाख ८० हजार रुपैयाँसम्म शैक्षिक सहयोग प्रदान गरिँदै आएको छ।






प्रतिक्रिया दिनुहोस्