काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले महासचिव चन्द्रविलास भुर्तेलविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दिएका छन् ।
अधिकारीले भुर्तेललाई आवश्यक कारबाहीका लागि निवेदन दर्ता गराएको जनाएका छन् ।
कार्यवाहक अध्यक्ष अधिकारीले निवेदनमा महासचिव भुर्तेलले विधानको दफा २८ ले तोकेका काम, कर्तव्य र अधिकारभन्दा बाहिर गई महासंघको आधिकारिक इमेल खाता [email protected], संस्थागत संरचना, सदस्य अभिलेख, ASOCIO/WITSA सम्बन्धी पत्राचार तथा वित्तीय अभिलेखहरू अन्य पदाधिकारी र स्वयं कार्यवाहक अध्यक्षलाई जानकारी नै नदिई एकलौटी कब्जा गरी दुरुपयोग गरेको दाबी गरेका छन् ।
पटक-पटक आग्रह गर्दा पनि अटेर गरेपछि साउन १५ गते नेपाल प्रहरी साइबर ब्युरो काठमाडौंमा पनि निवेदन दर्ता गराएका छन् । ब्यूरोले पनि आवश्यक विवरण समेत माग गरिसकेको छ ।
अधिकारीले पेश गरेको निवेदनमा भनिएको छ ”महासचिवले दर्ता-चलानी किताब र माइन्युट बुक समेत आफ्नो कब्जामा लिएका छन् । इमेल आउने तर पठाउन नमिल्ने अवस्था सिर्जना गरी अन्य निर्वाचित पदाधिकारीहरूलाई संस्थाको आधिकारिक इमेलबाट पत्राचार गर्नबाट वञ्चित गराएका छन् । केन्द्रीय कार्यसमितिको स्वीकृतिबिना व्यक्तिगत इमेल प्रयोग गरी अन्तर्राष्ट्रिय निकायसँग पत्राचार गर्ने, लेटरहेड, लोगो, छाप र डिजिटल पहिचानको दुरुपयोग गर्ने जस्ता कार्य भइरहेको छ ।”
भदौ ४ गते बेलुकी ८ बजे कार्यवाहक अध्यक्ष अधिकारीको अध्यक्षतामा बसेको पदाधिकारी बैठकमा महासचिवले अवरोध पुर्याई भाँडभैलो मच्चाएको, कर्मचारीलाई आफूखुशी बिदा दिई कार्यालय बन्द गराएको तथा दर्ता-चलानी र निर्णय पुस्तिका झोलामा बोकेर हिँडेको समेत निवेदनमा उल्लेख गरिएको छ। कार्यसमितिको बहुमत सदस्य उपस्थित बैठकले स्पष्टीकरण सोध्दा पनि जवाफ नदिएको र संस्था पूर्ण रूपमा कब्जा गर्ने प्रयास गरेको आरोप लगाइएको छ।
संस्था दर्ता ऐन, २०३४ को दफा ६ तथा महासंघको विधान २०७० (तेस्रो संशोधनसहित) को दफा २८ प्रतिकूलका क्रियाकलाप भएकाले महासचिवलाई यथाशीघ्र कार्यालयमा उपस्थित गराई आवश्यक कारबाही गरिपाउन माग गरेका छन् ।
निवेदनमा संस्था दर्ता प्रमाणपत्र, विधान, नागरिकता, इमेल तथा ह्वाट्सएप सन्देशका प्रतिलिपिहरू संलग्न गरिएका छन् ।
महासंघको ३१ औं वार्षिक साधारणसभा तथा १५ औं महाधिवेशन २०८१ पुस १३ गते काठमाडौंमा सम्पन्न भएको थियो । उक्त महाधिवेशनबाट सुनैना घिमिरे पाण्डे अध्यक्ष, चिरञ्जीवी अधिकारी वरिष्ठ उपाध्यक्ष र चन्द्रविलास भुर्तेल महासचिव निर्वाचित भएका थिए ।
अध्यक्ष पाण्डेले २०८३ वैशाख ३० गते राजीनामा दिएपछि विधानको दफा २६ को उपदफा ६ बमोजिम वरिष्ठ उपाध्यक्ष अधिकारी कार्यवाहक अध्यक्षको जिम्मेवारीमा छन् । उनी २०८३ जेठ ३ गते बसेको कार्यसमिति बैठकले उनलाई कार्यवाहक अध्यक्षको जिम्मेजारी दिएको छ ।








प्रतिक्रिया दिनुहोस्