Skip to content

प्रभु बैंकद्वारा देशव्यापी रक्तदान कार्यक्रम सञ्चालन

काठमाडौं । प्राकृतिक प्रकोप तथा बाढीबाट प्रभावित घाइतेहरूलाई आवश्यक रगत उपलब्ध गराउने उद्देश्यले प्रभु बैंक लिमिटेडले देशव्यापी रक्तदान कार्यक्रम सञ्चालन गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा मंगलबार देशका सातै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रमअन्तर्गत बागमती प्रदेशमा बैंकको केन्द्रीय कार्यालय बबरमहल र नारायणगढ शाखा, चितवन, कोशी प्रदेशमा विराटनगर शाखा, मधेस प्रदेशमा सिमरा शाखा, गण्डकी प्रदेशमा अमरसिंहचोक शाखा, पोखरा, लुम्बिनी प्रदेशमा बुटवल शाखा, कर्णाली प्रदेशमा सुर्खेत शाखा तथा सुदूरपश्चिम प्रदेशमा धनगढी शाखामा रक्तदान कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

देशभरका ती आठ स्थानमा सञ्चालन गरिएको रक्तदान कार्यक्रममा सहभागीहरूबाट ३२१ पिन्ट रगत संकलन भएको छ ।

बैंकले यसअघि पनि विनाशकारी बाढीबाट प्रभावित तथा घरबारविहीन परिवारलाई राहत पुर्‍याउने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रु। २ करोड ११ लाख ११ हजार १११ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको थियो । त्यस्तै, बैंकका सञ्चालक तथा कर्मचारीहरूले स्वेच्छिक रूपमा संकलन गरेको रु। ४० लाख ८० हजार ५० समेत उक्त कोषमा सहयोग गरिएको बैंकले जनाएको छ ।

यसैगरी, बाढी प्रभावित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले बैंकले थप सहयोगस्वरूप १०० थान टेन्ट र १०० थान स्लिपिङ ब्याग जिल्ला प्रशासन कार्यालय, नुवाकोटलाई हस्तान्तरण गरेको थियो ।

प्राकृतिक विपद्का कारण ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकहरूप्रति बैंकले श्रद्धाञ्जली व्यक्त गरेको छ । साथै, सम्पर्कविहीन नागरिकहरूको शीघ्र उद्धार तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विपद्बाट प्रभावित सम्पूर्ण समुदायप्रति बैंकले गहिरो समवेदना व्यक्त गरेको छ ।

प्रभु बैंकले विपद्को यस कठिन घडीमा प्रभावित नागरिक तथा समुदायको राहत, उद्धार र पुनर्स्थापनाका प्रयासमा आफ्नो सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T