काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न ६० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले ३० दिन अवधिका लागि निक्षेप संकलन उपकरणमार्फत उक्त रकम संकलन गर्न लागेको हो ।
नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले प्रकाशित गरेको सूचनाअनुसार निक्षेप संकलनको बोलकबोलमा सहभागी हुन इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म नेपाल राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टम (ओबीएसएस) मार्फत बोलकबोलमा सहभागी हुनुपर्नेछ ।
बोलकबोलबाट निर्धारण हुने ब्याजदरमा निक्षेप संकलन गरिनेछ । यसरी संकलन गरिएको निक्षेपको साँवा तथा ब्याज आगामी असोज ३० गते भुक्तानी गरिनेछ । निक्षेप संकलनका लागि न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान गरिएको ६० अर्ब रुपैयाँसम्म बोल गर्न सकिनेछ । बोल गरिएको रकम १० करोड रुपैयाँले भाग जाने हुनुपर्नेछ ।
निक्षेप संकलनका लागि आह्वान गरिएको रकम बाँडफाँट गर्दा बोलमा उल्लेख गरिएको सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता दिइनेछ । त्यसपछि क्रमशः बढी ब्याजदर उल्लेख भएका बोलपत्रलाई आह्वान गरिएको कुल रकमसम्म बाँडफाँट गरिनेछ ।
समान ब्याजदरमा कुल निष्काशित रकमभन्दा बढी माग भएमा भने त्यस्ता बोलपत्रलाई प्रो–रेटाका आधारमा बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र उक्त निक्षेप संकलनको बोलकबोलमा सहभागी हुन पाउनेछन् ।
बोलकबोलमा सहभागी हुने संस्थाले आफूले जम्मा गर्न चाहेको रकम र त्यसमा प्राप्त गर्न चाहेको ब्याजदर उल्लेख गर्नुपर्नेछ । स्वीकृत बोलपत्रबापतको रकम सम्बन्धित काउन्टरपार्टीको नेपाल राष्ट्र बैंकमा रहेको खाताबाट खर्च गरी लिइनेछ । संकलित निक्षेपका लागि छुट्टै खाता खोली रकम जम्मा गरिने राष्ट्र बैंकले जनाएको छ ।
निक्षेप संकलन उपकरणको भुक्तानी मितिमा (अशाेज ३० गते) निर्धारित ब्याजसहित संकलित निक्षेप रकम सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नेपाल राष्ट्र बैंकस्थित खातामा जम्मा गरिनेछ । उक्त निक्षेप रकमलाई सम्बन्धित बोलवालाको लगानी पोर्टफोलियोमा गणना गर्न पाइने छैन । यद्यपि, नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार कायम गर्नुपर्ने एसएलआर तथा तरलता अनुपातमा भने गणना गर्न सकिनेछ ।
त्यस्तै, संकलित निक्षेप रकम भुक्तानी मितिअघि सम्बन्धित बोलवालालाई फिर्ता भुक्तानी वा प्रि–म्याच्योर भुक्तानी गर्न नपाइने राष्ट्र बैंकले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्