Skip to content

एनसेल–नाटो साझेदारी, नेपाल आउने पर्यटकलाई दूरसञ्चार सेवामा सहज पहुँच

काठमाडौं । एनसेलले नेपाल एसोसिएसन अफ ट्राभल अपरेटर्स (नाटो)सँग साझेदारीको घोषणा गरेको छ। यस सहकार्यको मुख्य उद्देश्य नेपाल भ्रमणमा आउने अन्तर्राष्ट्रिय पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँचलाई सहज, सरल र भरपर्दो बनाउनु रहेको छ।

बिहीबार नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ता र नाटोका अध्यक्ष विश्वेश श्रेष्ठले समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेका हुन्।

यो सहकार्यले विभिन्न देशबाट नेपाल भ्रमणमा आउने पर्यटकहरूलाई यात्राभर आफ्ना परिवार, साथीभाइ तथा अन्य सम्पर्कमा रहन आवश्यक दूरसञ्चार सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ। विशेषगरी नेपालका विभिन्न पर्यटकीय गन्तव्य र दुर्गम क्षेत्रमा यात्रा गर्दा सञ्चार पहुँचलाई थप सहज बनाउने विश्वास गरिएको छ।

सम्झौताअनुसार एनसेलले पर्यटकहरूलाई भरपर्दो मोबाइल कनेक्टिभिटी उपलब्ध गराउनेछ भने नाटोले देशभर फैलिएको आफ्ना ट्राभल अपरेटरहरूको सञ्जालमार्फत एनसेलका सेवा तथा सुविधाबारे जानकारी प्रवाह गर्नेछ।

कार्यक्रममा बोल्दै एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर दत्ताले देशभर फैलिएको एनसेलको नेटवर्क र पर्यटन क्षेत्रमा नाटोको पहुँचलाई उपयोग गर्दै पर्यटकको यात्रा अनुभवलाई अझ सहज र स्मरणीय बनाउने विश्वास व्यक्त गरे।

उनले यो सहकार्यले ‘नेपाल कलिङ’ अभियानको प्रवर्द्धन गर्नुका साथै नेपाललाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने बताए।

नाटोका अध्यक्ष श्रेष्ठले पर्यटनको मूल मर्म नै मानिस, संस्कृति र अनुभवलाई जोड्नु रहेको उल्लेख गर्दै नेपाल भ्रमणमा आउने पर्यटकलाई यात्राभर सम्पर्कमा रहन सहयोग पुर्‍याउने एनसेलसँगको सहकार्यप्रति उत्साह व्यक्त गरे।

दूरसञ्चार सेवाबाहेक एनसेलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत एनसेल फाउन्डेसनमार्फत प्रमुख राजमार्गहरूमा आधुनिक वास (सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छता) पूर्वाधार निर्माणमा सहयोग गर्ने जनाएको छ। यस पहलको सुरुवात धादिङको गजुरीबाट पाइलट परियोजनाका रूपमा गरिनेछ।

एनसेलका अनुसार उक्त पहलले राजमार्ग प्रयोग गर्ने पर्यटक तथा स्थानीय समुदायको बढ्दो सुविधाको आवश्यकतालाई सम्बोधन गर्नेछ। साथै, दिगो र जिम्मेवार पर्यटन विकासप्रति दुवै संस्थाको साझा प्रतिबद्धतालाई पनि थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima