काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरको नयाँ बैंकनोट चलनचल्तीमा ल्याउने भएको छ। बैंकले साविककै आकार र रङ्गमा विभिन्न सुरक्षा विशेषतासहितको नयाँ ५० रुपैयाँको नोट २०८३ असोज २ गतेदेखि प्रचलनमा ल्याउन लागेको हो।
नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जारी गरेको सूचनाअनुसार नयाँ नोटमा संकेत नम्बर ०००००१ देखि ७९९९९९ सम्म रहनेछ।
नयाँ नोटको अग्रभागको मध्य भागमा ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५० रुपैयाँ पचास तुरुन्त पाइने छ’ भन्ने प्रतिज्ञामूलक वाक्यांश उल्लेख गरिएको छ।
नोटको बायाँतर्फ सगरमाथा हिमालको चित्र तथा दायाँतर्फ लालीगुराँसको पानीछाप राखिएको छ। पानीछापको मुनि ‘५०’ अंकसमेत राखिएको छ। नोटको तल्लो भागमा ‘वि।सं। २०८२’ सिरिज उल्लेख गरिएको छ।
नयाँ नोटमा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा। डा। विश्वनाथ पौडेलको दस्तखत रहेको छ। नोटमा १ दशमलव २ मिलिमिटर चौडाइको कागजमा बुनिएको सुरक्षण धागोसमेत राखिएको छ। प्रकाशतर्फ फर्काएर हेर्दा पूर्ण रूपमा देखिने उक्त धागोमा ‘एनआरबी’ लेखिएको छ।
नोटको पृष्ठभागमा हिउँ चितुवाको चित्र राखिएको छ। चित्रको माथिल्लो भागमा ‘नेपाल राष्ट्र बैंक’ लेखिएको छ भने तल्लो भागमा ‘रुपैयाँ पचास’ र सिरिज नम्बर ‘२०२५ ईस्वी’ उल्लेख गरिएको छ।
यसअघि नेपाल राष्ट्र बैंकले २०७७ असार २२ गतेदेखि ५० रुपैयाँ दरको सिरिज २०१९ को बैंकनोट संकेत नम्बर ०००००१ देखि ९९९९९९ सम्म चलनचल्तीमा ल्याउने सूचना प्रकाशित गरेको थियो। तर त्यसमध्ये ०००००१ देखि ९००००० सम्मका नोट मात्र चलनचल्तीमा ल्याइएको राष्ट्र बैंकले जनाएको छ।
नेपाल राष्ट्र बैंकले नयाँ नोटसम्बन्धी जानकारी सार्वजनिक गर्दै ‘नोट राष्ट्रको सम्पत्ति हो, यसको जतन गरौँ’ भन्ने सन्देशसमेत दिएको छ।








प्रतिक्रिया दिनुहोस्