काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको तरलता व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले २८ दिनका लागि उक्त निक्षेप संकलन उपकरण निष्काशन गर्न लागेको हो। केन्द्रीय बैंकले सार्वजनिक गरेको सूचनाअनुसार बोलकबोलमा सहभागी हुन इच्छुक बैंक तथा वित्तीय संस्थाले आज अपराह्न ३ बजेसम्म नेपाल राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टम (ओबीएसएस) मार्फत बोल पेश गर्नुपर्नेछ।
निक्षेप संकलनका लागि ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ। यसरी संकलन गरिएको साँवा तथा ब्याज आगामी असोज ३० गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।
बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान गरिएको ३० अर्ब रुपैयाँसम्म, १० करोड रुपैयाँले भाग जाने गरी बोल गर्न सकिनेछ । बोलपत्रमा बैंक तथा वित्तीय संस्थाले आफूले निक्षेपका रूपमा राख्न चाहेको रकम र माग गरेको ब्याजदर उल्लेख गर्नुपर्नेछ ।
निक्षेप संकलनका लागि आह्वान गरिएको रकम बाँडफाँट गर्दा बोलमा उल्लेख गरिएको सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता दिइनेछ । त्यसपछि क्रमशः बढी ब्याजदर भएका बोलपत्रलाई आह्वान गरिएको रकम पूरा नहुँदासम्म बाँडफाँट गरिनेछ ।
समान ब्याजदरमा कुल निष्काशित रकमभन्दा बढी रकमको माग भएमा भने प्रो–रेटाका आधारमा बोलपत्र बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् ।
स्वीकृत बोलपत्रबापतको रकम सम्बन्धित काउन्टरपार्टीको नेपाल राष्ट्र बैंकमा रहेको खाताबाट खर्च गरी लिइनेछ । संकलित निक्षेपका लागि छुट्टै खाता खोली रकम जम्मा गरिनेछ । भुक्तानी मितिमा निर्धारित ब्याजसहित निक्षेपको साँवा रकम सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नेपाल राष्ट्र बैंकस्थित खातामा जम्मा गरिनेछ ।
राष्ट्र बैंकका अनुसार उक्त निक्षेप रकमलाई सम्बन्धित बोलवालाको लगानी पोर्टफोलियोमा गणना गर्न पाइने छैन । यद्यपि, नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार कायम गर्नुपर्ने अनिवार्य तरलता अनुपात तथा वैधानिक तरलता अनुपात (एसएलआर) मा भने गणना गर्न सकिनेछ ।
यसैगरी, निक्षेप संकलन उपकरणको अवधि पूरा हुनुअघि सम्बन्धित बोलवालालाई रकम फिर्ता भुक्तानी गर्न वा प्रि–म्याच्योर भुक्तानी गर्न नपाइने व्यवस्था गरिएको छ । राष्ट्र बैंकले बैंकिङ प्रणालीमा उपलब्ध अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले समय–समयमा निक्षेप संकलन उपकरणमार्फत बजारबाट तरलता प्रशोचन गर्दै आएको छ ।








प्रतिक्रिया दिनुहोस्